काठमाडौं । नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा भएको छ । बिहीबार बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले सरकारको नेतृत्व गरेको एक वर्षको कामको समीक्षा भएको हो ।
बैठकमा सरकारले राम्रै काम गरेको निष्कर्ष निकाल्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन दलबीच भएको सहमति अनुसार आफ्नो कार्यकाल एक वर्ष रहेको र बाँकी एक वर्षे कार्यकालमा कामको गति बढाउने बताएका थिए । यसैबीच नेकपा माओवादी केन्द्रले फागुनको पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको छ । पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको हो ।
बैठकले उपाध्यक्ष पम्फा भुसालको संयोजकत्वमा विधान मस्यौदा समिति गठन गरेको छ । समितिमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की सदस्य रहेका छन् ।
प्रतिक्रिया