काठमाडौँ । काठमाडौँ उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौँ जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो ।
उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ । परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो ।
यस्ता गिरोह सक्रिय रहेको भन्ने जानकारी आएपछि प्रहरी परिसर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट संयुक्तरूपमा खटिएको प्रहरी टोलीले हाल सम्म आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ घर भई काठमाडौँको सामाखुसी बस्ने खड्कबहादुर तामाङ, मोरङ घर भई सोही ठाउँ बस्ने अशोक लिम्बू, सिन्धुपाल्चोकका रामबहादुर लामा , सिन्धुपाल्चोककै रेलबहादुर तामाङ, देवराज तामाङ र मञ्जु भन्ने कृष्णकुमारी तामाङ, भक्तपुरको दुवाकोट बस्ने सुब्बा तामाङ, काठमाडौँको तारकेश्वर बस्ने चन्द्रबहादुर तामाङ, रहेका छन् ।
उनीहरूको साथबाट ५० दरको १६ थान सक्कली अमेरिकन डलर, दुईवटा राहदानी, तिलहरी र एउटा स्कुटर बरामद गरी थप अनुसन्धान थालिएको छ । उनीहरूमार्फत यसरी लुटपाटमा संलग्न अन्य व्यक्तिको खोजी पनि जारी रहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया