काठमाडौं । दसबर्से माओवादी युद्धका बेला भड्किलो बिहेभोजमा प्रतिबन्ध लगाउने जन्ती लखेटने, माइतीले खुसीले दिएको उपहार लुटने, सामान्य विवाह गर्नलाई दबाब दिने र सामान्य टीकाटालो गरेर नेताका अगाडि हात मिलाएर जनवादी बिहेलाई प्रोत्साहन गर्ने माओवादीको नीति सुप्रिमो प्रचण्डकै कार्यकालमा गोकर्ण फरेस्ट रिसोर्टमा तिलाञ्जली दिइएको छ ।
गोकर्ण फरेस्ट रिसोर्टमा हजारौ निम्तालुको उपस्थितिमा अत्यधिक महँगो करोडौं खर्च गरेर गरिएको नातिनीको बिहेले थवाङको गरिब माओवादीको छोरीलाई गिज्याइरहेको टिप्पणी भएको छ । विगतमा प्रकाश दाहालले तीनवटी श्रीमती बनाउँदा चुप लागेका माओवादी कार्यकर्ता त अहिले यो बिहेबारे किन बोल्थे र ? भरतपुर महानगरपालिकावासीले भने गुनासो गरेका छन् । महानगरपालिकाका सबै ढोकाहरूमा ताल्चा लगाएर रेणु दाहाल सेवाग्राहीलाई अप्ठ्यारो पारेर पाँचतारे होटलमा छोरीको खर्चिलो बिहेमा मस्त भएकोमा ।
नेपालका कम्युनिस्टहरू आफूलाई सर्वहारा वर्गका रूपमा चित्रण गर्छन् । तर त्यस्को ठीक उल्टो उनीहरूको व्यक्तिगत आचरण, रहनसहन खानपिन र दैनिकी सम्भान्त वर्गको देखिन्छ । अरूलाई सामन्तवादी देख्ने उनीहरू आफैं सामन्तवादी र विलाशी जीवनशैलीमा रमाएका देखिन्छन् । यसको सबैभन्दा भरपर्दो उदाहरण हुन् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका परिवार ।
सर्वहारा वर्गकोे पार्टी भनिने माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक ‘सर्वहारा प्रधानमन्त्री’ भएको बेलामा उनी सुत्ने महँगो पलंगबारे नेपालीहरू जानकार छन् । अहिले उनले लगाएको दुई करोडसम्मको घडी उनले लगाउने ज्याकेट, उनको छोरीले बोक्ने महँगो गुची ब्यागदेखि छोरी र नातिनीको घडी, झोला, चप्पलबारे सामाजिक सञ्जाल र सञ्चार माध्यममा चर्चा छन् ।
प्रचण्ड आफूलाई सर्वहाराको मुक्तिदाता ठान्छन् । त्यसकारण उनको लवाइ, खवाइ, उठाइ, बसाइ सामान्य हुनुपर्ने आम नागरिकको बुझाइ हो । तर, प्रचण्ड र उनको परिवारको जीवनशैली उनकै शब्दमा भन्ने हो भने बुर्जुवा वर्गको जीवनशैली हो । उनका परिवारका सदस्यहरू छोरी, नातिनीहरू सम्भ्रान्त परिवारका छोरी, नातिनीभन्न्दा कम छैनन् ।
सामाजिक तथा सांस्कृतिक रूपान्तरणका लागि भनेर कम्युनिस्टहरूले प्रचलनमा रहेका मृत्यु संस्कार, धार्मिक कर्म, चाडपर्व, वैवाहिक संस्कारलगायतलाई पनि नमानेको देखिएको थियो । तर समयक्रममा ती सबै देखावटी ढोङ थिए भन्ने पुस्टि आपंmैले गर्दै आएका छन् । माओवादी सशस्त्र युद्धका बेला माओवादीका नेताहरूले कार्यकर्ताहरूले जनवादी बिहेलाई प्रश्रय दिएको थिए । तर त्यो अब इतिहासमात्र भइसकेको छ । उनीहरूकै शब्दमा अब उनीहरूमा सांस्कृतिक विचलन आइसकेको छ ।
केही दिनपहिले प्रचण्डको जेठी छोरी रेणु दाहालकी छोरीको बिहेको तामझाम हेर्दा सर्वहारा वर्गको नेतृत्व गर्ने शर्ष तहको नेताको नातिनीको बिहे नभै सम्भ्रान्त परिवारको राजकुमारीको बिहेजस्तो भनेर आलोचना भइरहेको छ । प्रधानमन्त्री प्रचण्डकी नातिनी तथा भरतपुरकी मेयर रेणुकी छोरी प्रतिभा पाठकको गोरखा घर भई हाल स्विट्जरल्यान्डमा बस्दै आएका अक्सफोर्ड विश्वविद्यालयबाट स्नातकोत्तर गरेका विज्ञानबाबु रेग्मीसँगको बिहेमा निम्तो मान्न विभिन्न क्षेत्रबाट गएका व्यक्तिहरूले सामाजिक सञ्जालमा बेहुलाबेहुलीसहितको तस्बिर पोस्ट गरेका छन् । ती पोस्टहरूमा आएका कमेन्ट हेर्दा पनि प्रचण्डशैलीको महँगो बिहेको आलोचना भएको छ ।
भव्य तयारीसहित गोकर्ण फरेस्ट रिसोर्टमा भएको विवाहमा प्रचण्डका पारिवारिक सदस्य, सरकारका मन्त्रीहरू, उच्च तहका कर्मचारीहरू, संवैधानिक प्रमुख, पूर्वप्रधानमन्त्रीहरू तथा विभिन्न दलका शीर्ष नेताहरू, कलाकर्मीहरू, संगीतकर्मीहरू लगायतलाई निमन्त्रणा गरिएको थियो । हिजो पार्टीभित्र रहेर जनवादी बिहे गरेका केही माओवादी नेताहरूले प्रचण्डको नातिनीको बिहेको तामझाम खर्च र शैलीको खुलेर विरोध गर्न नसके पनि भित्रभित्रै असन्तुष्टि पोखेको बताइएको छ ।
प्रतिक्रिया