काठमाडौं । आम नागरिकको जनभावना र जनगुनासोको सम्बोधन नहुँदा आम नागरिकमा अहिले सरकार र पुराना दलका शीर्ष नेताहरूप्रति चरम असन्तुष्टि व्याप्त छ । यो कुरालाई दलका दोस्रो तहका नेताहरूले पनि स्वीकार गरेका छन् । त्यसकारण सच्चिन दबाब पनि दिँदै आएका छन् । अहिलेको आक्रोश र असन्तुष्टि व्यवस्थाप्रति नभएर नेतृत्वको कार्यशैलीप्रति रहेको उनीहरूको निचोड छ ।
पछिल्लो समय नेताहरूप्रतिको वितृष्णा उनीहरूप्रतिको आक्रोश र विरोध व्यक्त गर्न कालो झन्डा देखाउने, मशाल जुलुस गर्ने, नाराबाजी गर्ने पुत्ला दहन गर्ने वा शान्तिपूर्ण प्रदर्शन गर्ने शैली बिस्तारै अराजक बन्दै गएको छ । गत भदौमा भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्किँदै गरेका नेपाली कांग्रेसका सहमहामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवमाथि नुवाकोटका श्यामबाबु सापकोटाले खुकुरी हानेका थिए । ज्यानै लिने आशयले टाउकोमा हानेको खुकुरी भुत्ते परेका कारण यादवको ज्यान बच्यो । सापकोटा प्रहरी हिरासतमा छन् । सापकोटाले एमसीसी पास गराउन भूमिका खेलेकोले आक्रोशमा खुकुरी हानेको प्रहरीलाई बताएका थिए । खुकुरी प्रहारपछि प्रहरीले उनलाई पक्राउ गर्दा उनले राजसंस्था जिन्दावाद भन्दै चिच्याएका थिए ।
यसैबीच, तीन दिन अगाडिमात्र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एक जनाले मुक्का हाने । मध्यपहाडी राजमार्गमा संकल्प यात्रामा रहेका ओलीमाथि धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवामा महेश राईले मुक्का हानेका हुन् । ओलीको स्वागतको लाइनमै बसेका राईले माला लगाउन खोजे जसरी अध्यक्ष ओलीको टाउकोमा मुक्का हानेका थिए । मुक्का हान्नुको कारण खुलिसकेको छैन । उनले मादक पदार्थ सेवन गरेको बताइएको छ । राई एमालेकै कार्यकर्ता भएको बताइए पनि कुन तहको कुन संगठनमा आबद्ध छन् भन्ने खुलेको छैन । आक्रमणलगत्तै राईलाई एमाले कार्यकर्ताले कुटपिट गरेका थिए ।
नेताप्रति कुन तहसम्मको आक्रोश र वितृष्णा छ आम नागरिक र कार्यकर्ताकै तहमा भन्ने बुझ्न यो घटनाले सहयोग गरे पनि विरोधको यो शैली भने अराजकता र उद्दण्डता हो । हुन त यस प्रकारको घटना यो पहिलो भने हैन ।
केही वर्षपहिले राष्ट्रियसभागृहमा तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका तत्कालीन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार भएको थियो । त्यसअघि पनि तत्कालीन एनेकपा (माओवादी) ले आयोजना गरेको चियापान कार्यक्रममा पदम कुँवर नाम गरेका एक युवाले प्रचण्डमाथि हातपात नै गरेका थिए । तत्कालीन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराईसहित नेताहरूमाथि असन्तुष्ट लडाकुले कुर्ची प्रहार गरेका थिए । यस्तै तत्कालीन एमाले अध्यक्ष झलनाथ खनालमाथि पनि सुनसरीमा एमालेकै कार्यकर्ता देवीप्रसाद रेग्मीले झापड हानेका थिए । कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालामाथि आफ्नै कार्यकर्ता नेविसंघका प्रवेश बस्नेतले कुर्ची प्रहार गरेका थिए । तत्कालीन माओवादी सभासद् झक्कु सुवेदीमाथि पनि तीनकुनेको एक चिया पसलमा झापड हानिएको थियो ।
प्रतिक्रिया