देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

अन्ततः केरमेट जर्नेलको पदोन्नति

देशान्तर


काठमाडौं । एकै प्रकृतिको कार्यद्वारा केरमेट गरी उमेर सच्याएका उपरथी ताराध्वज पाण्डेलाई सिफारिस रोकेका प्रधानसेनापति र रक्षा मन्त्रालयले अर्का उपरथी अशोकराज सिग्देललाई भने अपनत्व देखाई र पारिको आर्शीवादका कारण रथीमा पदोन्नति गरी भावी प्रधानसेनापति बनाउनेसम्मको हर्कत गरिएको छ, यसले अलि कम विवादित नेपाली सेनालाई थप विवादमा तानेको सुरक्षाविद्हरूबीच चर्चा छ । त्यसमाथि सरकारले गत बिहीवार निर्णय गरेको भोलिपल्टै हतारहतार प्रधानसेनापति प्रभुराम शर्माले दज्र्यान्ही चिह्न (रथी) प्रदान गर्नुलाई उनको सिग्देलप्रतिको उच्च मोह प्रदर्शित भएको छ । राजाको प्रत्यक्ष संलग्नता हुने पञ्चायती व्यवस्था र १९ महिनेपूर्व राजा ज्ञानेन्द्रको शासनमा भएजस्तै यसपटक रथीमा केरमेट जर्नेलकै पदोन्नति भयो भनी सैनिक मुख्यालयमा जर्नेलहरूबीच नै खासखुस चलेको बताइन्छ ।
सिग्देलको पदोन्नतिलाई भने स्वाभाविक मानिएको छैन । उमेर विवादमा परेका सिग्देललाई रथीमा पदोन्नति गरेको हो । यसअघि यस्तै विवादमा परेर बढुवाका लागि ठिक्क परेका उपरथी ताराध्वज पाण्डेले जन्ममिति विवादकै कारण राजीनामा दिएको एक महिना पनि बित्दा नबित्दै नेपाली सेनाको बढुवा समितिले रथीको लागि त्यस्तै विवादमा परेका सिग्देललाई सिफारिस गरेको थियो ।
रथीमा बढुवा भएका सिग्देलले चार वर्षअघि मात्रै आफ्नो उमेर सच्याएको र जन्ममितिका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र संसद्को राज्य व्यवस्था तथा सुशासन समितिमा प्रमाणसहित उजुरी परेको छ । उजुरी परेको निकायबाट कुनै पनि कारबाहीको प्रक्रिया अघि नबढ्दै हतारहतार सिफारिस गरेर जंगी अड्डामा दज्र्यानी चिह्न लगाएका थिए । ४५औं प्रधानसेनापतिको रोलक्रममा रहेका सिग्देलले शैक्षिक योग्यता र नागरिकताका प्रमाणपत्रमा किर्ते गरेर जन्ममिति सच्याएको प्रमाण अख्तियारले फेला पारेको थियो । उनको वास्तविक जन्ममिति २०२१ साल चैत १९ गते भएकोमा शैक्षिक योग्यताको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रमा सच्याएर २०२३ माघ १९ गते बनाएको बताइएको छ ।
प्रमाणपत्र किर्ते गरेको विवादपछि प्रधानसेनापतिको रोलक्रममा रहेका रथी ताराध्वज पाण्डेले कात्तिक २४ गते पदबाट राजीनामा दिएका थिए । तर, उनीभन्दा उमेर विवाद बढी भएका सिग्देल भने अरू कसैको इशारामा रथीमा बढुवा भएको अहिले सर्वत्र चर्चा सुरु भएको छ । उनले प्रधानसेनापति शर्मापछि दोस्रो रोलक्रममा सेनाको कमान्ड सम्हाल्नेछन् । शर्मा आगामी भदौमा अवकाश भएपछि उनको स्थानमा उनै सिग्देल पुग्नेछन्