देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

सत्यवती एकेडेमीले जित्यो एलपीएलको उपाधि

देशान्तर

धनगढी । आठौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिगको उपाधि सत्यवती एकेडेमी, अत्तरियाले जितेको छ। कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले धनगढी स्पोर्ट्स क्लबलाई ५ रनले पराजित गरेको गरेको हो।

 रोमाञ्चक खेलमा सत्यवतीले दिएको १२७ रनको लक्ष्य पछ्याएको धनगढी स्पोर्ट्सले १९ दशमलव २ ओभरमा सबै विकेट गुमाएर १२१ रन बनाएको हो। धनगढी स्पोर्ट्सको ब्याटिङमा वसन्त कार्कीले ३५, सुनिल धमलाले २८ तथा अमरसिंह रौटेलाले २७ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन। 

लक्ष्य पछ्याउने क्रममा धनगढी स्पोर्ट्सले ३६ रनमा सुरुवात ५ विकेट गुमायो। छैटौँ विकेटको लागि वसन्त कार्की र भुवन कार्कीले ३३ रनको साझेदारी गरे। भुवनको विकेट पछि सातौँ विकेटको लागि वसन्तले अमरसिंह रौतेलासँग ४३ रन जोडे। अठारौँ ओभरमा अभिषेक कोइरालाले अमरसिंह रौतेलाको विकेट लिँदै सत्यवतीलाई खेलमा फर्काए। लगत्तै ओभरमा तृतराज दासले वसन्त कार्की र दीपक चन्दको विकेट लिए। 

जितको लागि अन्तिम ओभरमा १० रन आवश्यक हुँदा धनगढी स्पोर्ट्स क्लबसँग १ विकेट बाँकी रहेको थियो। अन्तिम ओभर बलिङ गरेका सन्दीप खत्रीले पहिलो बलमा वाइड र दोस्रो बलमा २ रन दिएपछि तेस्रो बलमा विकास आग्रीको रूपमा धनगढी स्पोर्ट्सले अन्तिम विकेट गुमायो। सत्यवतीको बलिङमा प्लेयर अफ द म्याच समेत घोषित अभिषेक कोइरालाले सर्वाधिक ४ विकेट लिए जुन ४ ओभरमा १५ रन खर्चिए।

तृतराज दासले २ तथा फिर्दोश अन्सारी, सन्तोष कार्की र रञ्जित कुमारले १र१ विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको सत्यवती एकेडेमीले २० ओभरमा ६ विकेटको क्षतिमा १२६ रन बनायो। सत्यवतीको ब्याटिङमा पाँचौँ नम्बरमा ब्याटिङ गरेका सन्दीप रजालीले सर्वाधिक ४१ रन बनाए जुन क्रममा उनले ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। तृतराज दासले १३ बलमा अविजित २७ रन बनाए जुन क्रममा ४ चौका र १ छक्का प्रहार गरे।

फिर्दोश अन्सारीले २२, सन्तोष कार्की र समीर कार्कीले समान १० रन बनाए। पावर प्लेमा ३ विकेट गुमाएको अवस्थाबाट चौथो विकेटको लागि सन्दीप रजाली र फिर्दोश अन्सारीले ६७ रनको साझेदारी गर्दै टिमलाई उकासे। आठौँ विकेटको लागि तृतराज र समीर कार्कीले अविजित ३६ रनको साझेदारी गरे। धनगढी स्पोर्ट्स क्लबको बलिङमा दीपक चन्द, भोजराज भट्ट र भुवन कार्कीले २र२ विकेट लिए।

विजेता सत्यवती एकेडेमीले विजेता ट्रफी सहित दुई लाख ५५ हजार र उपविजेता धनगढी स्पोर्ट्स क्लबले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाएका छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडी तथा उत्कृष्ट बलर धनगढी स्पोर्ट्स क्लबका कप्तान समेत रहेका भुवन कार्की घोषित भए। कार्कीले ५ खेलमा १२ विकेट लिए। प्रतियोगिताका उत्कृष्ट ब्याट्सम्यान शुक्लाफाँटा ब्ल्याक बक्सका किरण ठगुन्ना घोषित भए जसले ३ खेलमा १३४ रन बनाए।

प्रतियोगिताका उदयमान खेलाडी कैलाली जिल्ला क्रिकेट क्लबका सुधांशु रावल घोषित भए। विजेता खेलाडीहरूलाई समापन कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले पुरस्कृत गरेका हुन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता थियो।