काठमाडौं महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघले प्रधानमन्त्री प्रचण्डलाई पाँचखलको ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’ बारे ध्यानाकर्षणपत्र बुझाएर विरोध जनाएको छ ।
२०७६ सालको सम्झौताविपरीत महासंघलाई जानकारीसमेत नदिई महिला औद्योगिक ग्रामको शिलान्यास भएको महासंघको दाबी छ ।
महासंघले विगतको सम्झौताविपरीत शिलान्यास भएको भन्द, नीतिगत रूपमा नै पूर्ण रूपमा महिला उद्यमी महासंघको अग्रणी भूमिका रहने गरी उक्त हरित औद्योगिक ग्रामको नेतृत्व गराइदिन आग्रह गरेको छ ।
२०८० २४ जेठ को मन्त्रिपरिषद् बैठकले औद्योगिक ग्राम कार्यक्रमअन्तर्गत निर्माणाधीन पाँचखालको पार्कलाई ‘महिला औद्योगिक ग्राम’ बनाउने निर्णय गरेको थियो । औद्योगिक पार्क २५ वर्षका लागि जमिन भाडामा दिने सम्झौता भएको छ । झण्डै एक अर्ब लगानी हुने अनुमान गरिएको ग्रामका लागि सरकारले औद्योगिक ग्राम निर्माणका लागि ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
औद्योगिक ग्राम शिलान्यास गर्ने बेलामा भने महासंघलाई जानकारी समेत नदिएको दाबी गरिएको छ । महासंघको अगुवाईमा औद्योगिक ग्राम बनाउने सहमति तत्कालीन अध्यक्ष शारदा रिजालको समयमा भएको थियो । महासंघको कार्यकाल सकिएपछि रिजाल अहिले दक्षिण एसियाली महिला विकास मञ्चमा भएसँगै महासंघलाई बाइपास गरेको आरोप लागेको छ ।
महासंघले विगत २० वर्षदेखि हरित महिला औद्योगिक ग्राम माग गर्दै आएकोमा सरकारले महासंघलाई उपलब्ध गराउने प्रतिबद्धता जनाएको स्मरण पनि गराएको छ ।
करिब एक सय रोपनी जग्गामा झण्डै एक अर्ब रुपैयाँको लगानीमा महिला औद्योगिक ग्राम बन्न लागेको हो ।
प्रतिक्रिया