देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

भरतपुरमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक

देशान्तर

चितवन । भरतपुर महानगरपालिकाको विभिन्न क्षेत्रमा लगानी गर्न चिनियाँ लगानीकर्ता सकारात्मक देखिएका छन् । भरतपुर–२२ को सोल्टी वेस्टर्न होटेलमा भएको लाइभ तथा अनलाइन अन्तरक्रिया कार्यक्रममा भरतपुरको विभिन्न क्षेत्रमा लगानी गर्न इच्छुक रहेको बताएका हुन् । चेम्बर अफ कमर्स छ्यान जाओ सिआनको आयोजनामा भएको कार्यक्रममा स्थानीय उद्यमीको सहभागितामा १ सय ३० जना विदेश लगानीकर्ता सो कार्यक्रममा भाग लिएका थिए ।

भरतपुरको पर्यटकीय क्षेत्रका सम्भावनालाई चिनियाँ बजारसम्म पुराउन पटिहानी क्षेत्रमा कार्यक्रमको आयोजना गरिएको चेम्बर अफ कमर्स छ्यान जाओका कार्यकारी अध्यक्ष चोङ्ग कोए पिनले जानकारी दिए ।

अध्यक्ष पिनले भरतपुरमा धेरै क्षेत्रमा लगानी गर्न सकिने भए पनि पहिलो चरणमा भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गरेर पर्यटन प्रवर्द्धनमा लागेको उल्लेख गरे ।

भ्रमण वर्ष सफल बनाउन भरतपुरका पर्यटकीय क्षेत्रको बारेमा रिपोट बनाएर सिआन छ्यान जाओ सरकारसँग पटक पटक छलफल भएको सो अवसरमा जानकारी दिए ।

भ्रमण वर्षको प्रचार–प्रसार गर्न नेपाली संस्कृति झल्कने गरी सिआन सहरमा संग्राहलय निर्माणको काम अगाडि बढाइएको पनि अध्यक्ष पिनले बताए ।

भरतपुरमा तत्काल नै फुड एन्ड बेबरेज, पाइप फ्याक्ट्री, कृषि तथा शिक्षा क्षेत्रमा लगानी गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको उनले बताए ।

करिब ३ महिनाको बिचमा भरतपुरबारे धेरै कुरा जान्ने अवसर पाएकाले बोलेका कुरा पुरा गर्ने चेम्बर अफ छ्न्जाओ सिआनको विशेषता रहेको अध्यक्ष पिनले बताए ।

कार्यक्रममा वैज्ञानिक डा उ जिनले भरतपुरले आइटी क्षेत्रमा पनि सिआनसँग सहकार्य गर्न सक्ने बताए । भरतपुरको शान्ति, सुरक्षा तथा प्रविधिमैत्री महानगर निर्माणमा दुई सहरले सहकार्य गर्ने डा जिनले बताए ।

चीन भाषा विज्ञ सरोज बस्नेतले भरतपुरमा लगानीकर्तालाई आकर्षित गर्न पहिलो चरणको लगानी सम्मेलन आयोजना गरिएको बताए  । निकट भविष्यमा अझै ठुलो लगानी सम्मेलनमार्फत भरतपुरको आर्थिक, सामाजिक, शैक्षिक तथा स्वास्थ्य क्षेत्रमा लगानी भित्र्याउन सकिने बताए । भाषा विज्ञ बस्नेतले लगानीकर्तालाई सरलीकरण गर्न सकियो भने लगानी सहज रूपमा भित्र्याउन सकिने जिकिर गरे । कार्यक्रमका सञ्चालक तथा सरल नेपालका अध्यक्ष मनिष पौडेलले भरतपुरको स्थानीय स्तर हुँदै महानगर स्तरीय लगानी सम्मेलन आयोजना गर्ने उद्देश्य राखिएको बताए ।

अध्यक्ष पौडेलले भरतपुर भ्रमण वर्ष सफल बनाउन सिआन सिटीले एकदमै क्रियाशील भई काम गरिरहेको बताए । कार्यक्रमका प्रमुख अतिथि तथा भरतपुर महानगरपालिकाका २२ का अध्यक्ष विष्णुराज महतोले पटिहानी  क्षेत्र नेपाल सरकारको १०० गन्तव्यभित्र सूचीकृत क्षेत्र भएकाले चिनियाँ तथा बाह्य सहयोग अपरिहार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा चिनियाँ टोलीसँगै भरतपुरका विभिन्न क्षेत्रका व्यवसायीहरू उपस्थिति रहेको थियो ।