काठमाडौं । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएपछि गत मंसिरमा सम्पन्न भएको दोस्रो आम निर्वाचनबाट सरकार बनेको एक वर्ष पुग्नै लाग्दा पहिलो सरकार बनेको केही समयमै राजनीतिक समीकरण फेरिए पनि सरकारको नेतृत्व उही रहेको र सरकारमा सहभागी दलहरू र तिनीहरूका मन्त्रीको मात्रै फेरबदल भइरहेको अवस्थामा अब भने सरकारको नेतृत्व नै परिवर्तन गर्ने दिशामा राष्ट्रिय राजनीति अगाडि बढिरहेको सर्वत्र महसुस भैरह“दा नेतृत्व गरिरहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमा छटपटी सुरु त भएकै छ, दाहाल नेतृत्वको सरकारमा मन्त्री रहेकाहरूमा पनि कुन दिन आफू मन्त्रीबाट पदमुक्त हुने हो भन्ने आफैंमा दिनगन्ती सुरु भएको छ । सरकारको नेतृत्व नै परिवर्तन गर्ने वा सरकारमा सहभागी दलहरूले मन्त्रीहरू मात्रै फेर्ने भन्ने विषयमा यो मंसिरको कठ्यांग्रिने जाडोमा पनि भित्रभित्र भुसको आगोझै राजनीतिक गर्मी सुरु भएको छ । सरकारमै सहभागी वर्तमान सत्ता गठबन्धनको मुख्य दल नेपाली कांग्रेसभित्र मन्त्रीमात्रै परिवर्तन गर्ने वा सरकारको नेतृत्व नै फेर्ने भन्ने विषयमा एकमत नहु“दा वर्तमान सरकारको आयु लम्बिरहेको मात्र हो । प्रधानमन्त्री दुबईको भ्रमणबाट फर्केलगत्तै यस विषयले आकार ग्रहण गर्ने राजनीतिक वृत्तमा चर्चा छ ।
गत पुस १० गते नेकपा एमालेसहित रास्वपा, राप्रपा, जसपालगायत ७ दलको गठबन्धनमा सरकारको नेतृत्व गरेका माओवादी अध्यक्ष प्रचण्डले राष्ट्रपति चुनावमा कांग्रेसको पक्ष लिएपछि एमाले, रास्वपा र राप्रपा सरकारबाट बाहिरिँदा कांग्रेससहितका केही दल सरकारमा सहभागी भएर प्रचण्डलाई निरन्तरता दिए पनि दाहालले सरकारको नेतृत्व गरेको एक वर्ष पुग्दै गर्दा भने राजनीतिक अवस्थामा आकाश जमिनको फेरबदल आउने सम्भावना बनेको छ । खासगरी सरकारको कार्यशैलीबारे माओवादी, कांग्रेस र अन्य दलका बीचमा बढेको असमझदारी, सरकारप्रति घट्दो नागरिकको विश्वास तथा बढ्दो निराशाले सरकार आम रूपमा संकटमा परेको छ भने सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री प्रचण्ड रक्षात्मक अवस्थामा पुगेका छन् ।
संसद्को दोस्रो ठूलो दल नेकपा एमाले जसरी पनि वर्तमान गठबन्धनलाई भत्काउने दाउमा छ । आफूसँगको सहकार्य तोडेको रिस फेर्न प्रचण्डविरुद्ध एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओली जस्तोसुकै हत्कण्डा अपनाउन तयार देखिएका छन् । पछिल्ला केही दिनयता उनले जसरी पनि यो सरकार गिराउने र नयाँ सरकार बन्ने बताउँदै आएका छन् ।
११ मुख्य विषयमा प्राथमिकता निर्धारण गरेका वर्तमान १० सत्तारूढ घटकले सरकारले प्राथमिकताअनुसार काम गर्न नसकेको र समस्यामा परेका नागरिकलाई उत्थानका लागि कार्यक्रम ल्याउन नसकेको निष्कर्ष निकालिसकेका छन् । यहीबीचमा दृश्य तथा अदृश्य शक्तिको साथमा राजतन्त्र र हिन्दुराष्ट्र पुनस्र्थापनाको माग गर्दै सुरु भएको देशव्यापी प्रदर्शनले पनि सरकारमाथि दबाब परेको छ । पूर्वपञ्चहरूको पार्टी राप्रपा र राप्रपा नेपालभन्दा पनि एक कदम माथि उठेर विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा सुरु भएको आन्दोलन लम्बिँदै जाँदा र त्यो आन्दोलनमा विभिन्न नाम र उद्देश्यबाट सहभागिता थपिँदै जाँदा सरकार थप कमजोर बन्ने त होइन भन्ने आशंका पलाएको छ ।
वर्तमान सरकारको मुख्य आड कांग्रेस हो । सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा कांग्रेस नै विभाजित छ । कांग्रेस संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवा यसअघिको आलोपालोको सहमतिअनुसार वर्तमान सरकार र नेतृत्वलाई नै थप एक वर्ष कायम गर्न चाहे पनि पार्टीमा भने जतिसक्दो छिटो पार्टी सरकारबाट बाहिरिनुपर्ने र सरकारको नेतृत्व नै यथाशक्य कांग्रेसले लिनुपर्ने दबाब बढ्दै गएको छ । नेता शेखर कोइराला र उनी पक्षका नेताहरूले सरकारको वर्तमान नेतृत्व परिवर्तन गर्न ढिलाइ गर्न नहुने बताइरहेका छन् ।
यदि सरकारको नेतृत्व परिवर्तन गर्न नसक्ने हो भने कार्यक्षमता कम भएका र विवादमा आइरहेका मन्त्रीहरूलाई गठबन्धन दलले आआफ्नो तर्फबाट फिर्ता बोलाउनुपर्ने माग कांग्रेसमा चर्को रूपमा उठिरहेको छ । कांग्रेसबाटै सरकारमा सहभागी मन्त्रीहरूको कौशल कम देखिनु र जनताले भोग्नु परेका समस्या समाधान नहुनुले पनि कांग्रेसका केही नेता चिन्तित देखिन्छन् । खासगरी वर्तमान सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री नारायणकाजी श्रेष्ठलगायतको कार्यक्षमतामा प्रश्न उठिरहेको छ । सेवा प्रवाह र आर्थिक अवस्था सुधारमा यी मन्त्रीहरू कमजोर देखिएका छन् । त्यस्तै, पर्यटनमन्त्री सुदन किराँती, उद्योगमन्त्री रमेश रिजाल, परराष्ट्रमन्त्री एनपी साउदलगायतको कार्यशैली र प्रगति पनि सन्तोषजनक देखिएको छ । कांग्रेस सभापति देउवाले नै पटकपटक गृहमन्त्रीको कार्यशैली र नियतका बारेमा असन्तुष्टि व्यक्त गरिरहेका छन् भने अन्य मन्त्रीहरूको काम गराइप्रति पनि देउवा सन्तुष्ट छैनन् ।
कांग्रेसका दुई समूहका दुई समूहका फरक फरक असन्तुष्टिका कारण प्रधानमन्त्री प्रचण्ड तीव्र दबाबमा छन् । मुख्य घटकमा सरकारलाई लिएर बढेको विवाद र असन्तुष्टिले दबाबमा परेका प्रचण्ड मन्त्री फेरबदलबाट समस्या समाधान गर्ने उपायको खोजीमा लागेका छन् भने स्वयम् प्रचण्डमाथि नै उठेका प्रश्नलाई भने कसरी सम्बोधन गर्ने भन्ने विषयले उनलाई पिरोलेको छ ।
राजनीतिक क्षेत्रका जानकारहरू भने सरकारको नेतृत्वसहित सेट नै परिवर्तन गर्न सकेमा मात्रै सरकारले गति लिन सक्ने बताउँछन् । सत्ताका लागि चतुर खेलाडी प्रचण्डले एक वर्ष जे जसरी मुलुकको बागडोर सम्हाले, अब उनले यो भन्दा बढी केही गर्न नसक्ने र उनकै नेतृत्वमा सरकार रहिरहने हो भने मुलुकले हरेक क्षेत्रमा संकटको सामना गर्नुपर्ने जानकारहरूको बुझाइ छ ।
प्रतिक्रिया