देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

‘मिसन’ अहिले छाडेर किन ८४

देशान्तर


काठमाडौं ।आम निर्वाचन भएको एक वर्ष बित्दा नबित्दै केही दलहरूले मिसन ८४ भन्दै अब चार वर्षपछि हुने निर्वाचनका लागि तयारी गरिरहँदा वर्तमान आवश्यकतालाई बिर्सेर पछिका लागि मात्रै योजना बनाइरहेको भन्दै नागरिक स्तरबाट नै विरोध हुन थालेको छ भने अहिले नै काम गरेर देखाउन पनि ती दलहरूमाथि दबाब सिर्जना भएको छ ।
विशेषगरी संसद्को दोस्रो ठूलो दल नेकपा एमाले र चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी, रास्वपाले मिसन ८४ का नाममा विभिन्न अभियान सञ्चालन गरेका छन् । गत मंसिरमा सम्पन्न निर्वाचनलगत्तै माओवादीसँग मिलेर सरकार बनाएका एमाले र रास्वपाले गठबन्धन फेरिएपछि सरकार छाडेर मिसन ८४ अभियान थालेका हुन् । यी दुवै दलले खुलेआम रूपमा आगामी निर्वाचनमा आफूलाई दिन जनतासँग आग्रह गरिसकेका छन् ।


रास्वपाले २०८४ सालमा हुने निर्वाचनमा आफ्नो पार्टीले एकल बहुमत ल्याउने र एक्लै सरकार बनाउने घोषणा गरिसकेको छ । तर, २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा चौथो बनेको यो दलले यो एक वर्षमा सरकार, सदन र सडकबाट के के काम ग¥र्यो भनेर जनतालाई केही भनेको छैन । रास्वपाका तीन महिना सरकारमा बसे । तर उनीहरूले त्यो अवधिमा देखिने, सुनिने र जनताले अनुभूति गर्ने एउटा काम पनि गरेनन् । गृह, शिक्षा, श्रम, स्वास्थ्यलगायत महत्वपूर्ण मन्त्रालय सम्हाल्दा पनि रास्वपाका मन्त्रीहरूले योगदान चर्चा गर्न लायक रहेन । सदनमा चौथो शक्ति हुँदा पनि बेलाबेलामा एमालेको पक्षमा लागेर सदन अवरोध गर्नुबाहेक सदनमा पनि उसको सशक्त र प्रभावकारी उपस्थिति देखिएको छैन । बरु, संसदीय प्रक्रिया, अनुशासन र मर्यादा कायम गर्न नसकेको भनेर रास्वपाका सांसदहरूको आलोचना हुने गरेको छ ।


कतिपय राजनीतिक विश्लेषकहरूले रवि लामिछानेले एमाले र त्यसका अध्यक्ष केपी ओलीको पदचाप पछ्याएको भन्दै टिप्पणी गर्न थालेका छन् । एमालेको सहारामा सत्तामा जाने, एमालेकै इशारामा सरकारबाट बाहिरिने अनि एमालेकै योजनामा सरकारको विरोधमा उत्रिने काम रास्वपाले गरिरहेको विश्लेषकहरूको टिप्पणी छ ।
संसद्को सबैभन्दा ठूलो दल कांग्रेसलाई एक्ल्याएर माओवादीलाई भ¥याङ बनाई सत्तामा गएको र पछि माओवादीसँग कुरा नमिलेपछि सरकारबाट बाहिरिएको एमाले पनि केही समययता महिनैपिच्छे फरकफरक नामको अभियान लिएर मिसन ८४ भन्दै सरकारको विरोधमा जनमत तयार पार्ने ध्याउन्नमा लागेको छ । ग्रासरुट, युवासँग एमालेलगायत अभियान असफल भएपछि अहिले मध्यपहाडी लोकमार्ग पदयात्रा सुरु गरेको एमालेको मुख्य उद्देश्य संगठन निर्माणभन्दा पनि सरकारको आलोचना गर्नु रहेको छ । अभियान सुरु भएकै दिन बैतडीका जनताले त भोटको राजनीति नगर्न एमालेलाई चेतावनीसमेत दिइरहेका छन् ।
अघिल्लो चुनावपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्ता सम्हालेदेखि सुरु भएको अर्थतन्त्रको समस्या अझै सुल्झिएको छैन । नारा ठूला दिने तर, काम नगर्ने एमाले प्रवृत्तिकै कारण जनतामा निराशा चुलिएको छ । सपना देखाएर लोभ्याई मत लिने तर, व्यवहारमा लागू नगर्ने एमाले व्यवहारबाट रुष्ट जनताले फेरि एमालेले नै भोटकै लागि अहिलेदेखि नै चुनावी अभियान थालेपछि जनताले नै पत्याउन छाडेका छन् ।