देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

कार्यकर्ता डा. पौडेल तानिए

देशान्तर


काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र ठूलो सरकारी अस्पताल वीर अस्पतालमा पटक–पटक राजनीतिक आस्थाको आधारमा निर्देशक नियुक्ति हुँदा उपचार र व्यवस्थापन कमजोर भइरहेकोमा अघिल्लो सरकारले पार्टीका लेबीवाल कार्यकर्ता डा.सन्तोष पौडेललाई निर्देशक नियुक्ति गर्दा ओरालो लागेको अस्पताललाई पछिल्लो पटक निर्वाचन आयोगले आवश्यक कार्यवाही गर्न निर्देशन दिएपछि मन्त्रिस्तरीय निर्णयबाट वीर अस्पतालका निर्देशक डा. पौडेल मन्त्रालय तानिएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले गत बिहीबार मन्त्रीस्तरीय निर्णय गर्दै पौडेललाई पदीय जिम्मेवारीमा नरहने गरी मन्त्रालयमा हाजिर हुन भनिएको छ र कसैलाई पनि निमित्त वा कामु निर्देशक तोकेको छैन ।


नेकपा एमालेको संगठित सदस्य रहेका पौडेल नेपाल सरकार स्वास्थ्य सेवाका कर्मचारी एवं सहप्राध्यापक तथा अर्थोपेडिक सर्जन हुन् । एमालेको जनसंगठन राष्ट्रिय स्वास्थ्यकर्मी महासंघको महासचिव पदमा रहेका पौडेललाई नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ संशोधनसहितको दफा ५५ अनुसार कारबाहीको लागि प्रधानमन्त्री, कार्यालय, सतर्कता केन्द्र, अख्तियार, निर्वाचन आयोग तथा स्वास्थ्य मन्त्रालयमा उजुरी परेको थियो ।
निर्वाचन आयोगले सम्बन्धित निकाय वीर अस्पताल, नेकपा एमाले केन्द्रीय कार्यालय, स्वास्थ्य मन्त्रालय तथा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालसँग यसबारेमा जानकारी लिएको थियो । त्यसपछि आयोगले गत मंसिर ७ गते पौडेल दलको संगठित सदस्य रहेकाले आवश्यक कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई पत्र पठाएको थियो । नेपाल सरकारबाट नियुक्त डा. पौडेल दलको सदस्य र जनसंगठनको पदाधिकारी रहेको भन्दै गत असारमा कारबाहीको माग गर्दै उजुरी परेकोमा आयोगले छानबिन गरेको थियो ।


आयोगले मन्त्रालयलाई लेखेको पत्रमा पौडेल एमालेमा क्रियाशील रहेको र उक्त पार्टीको जनसंगठनको महासचिव रहेको भनी उजुरी आएको उल्लेख गरिएको छ । राष्ट्रिय सतर्कता केन्द्रले पनि छानबिन पछि पौडेलको पद स्वास्थ्य सेवा ऐनविपरीत देखिएकाले आवश्यक कारबाही गर्न स्वास्थ्य मन्त्रालयलाई सिफारिस गरेको थियो । पौडेलको ट्रेड युनियनसँगको संलग्नता स्वास्थ्य सेवा ऐन, २०५३ दफा ९२ (क) को व्यवस्थाविपरीत भएको केन्द्रको भनाइ छ ।
डा.पौडेल यसअघि ट्रमा सेन्टरको निर्देशक हुँदा पनि विवादमा आएका थिए । पौडेल ट्रमा सेन्टरमा र वीर अस्पतालको निर्देशक पदमा कार्यरत रहँदा उनले गरेको अनियमितताका सम्बन्धमा अख्तियारले पनि छानबिन गरिरहेको छ । पौडेललाई गत वर्ष माघमा तत्कालीन एमालेका स्वास्थ्यमन्त्री पदम गिरीकोे पालामा वीर अस्पतालको निर्देशक नियुक्त गरिएको थियो । उनको नियुक्तिबारे पनि प्रश्न उठेको थियो । दुईवर्षे कार्यकालका लागि नियुक्त भएका पौडेलको पदावधि अझै झन्डै १५ महिना बाँकी छ ।
यसअघि पनि पौडेलमाथि विभिन्न संघसंगठनहरूले कर्मचारीमाथि दुव्र्यवहार गरेको विषयमा कारबाहीको माग गरेका थिए । मधेसी स्वास्थ्यकर्मी फोरम नेपाल, नेपाल रेडियोलोजिकल सोसाइटी, नेपाल मधेसी निजामती कर्मचारी मञ्चलगायतले विज्ञप्ति जारी गरेर कारबाहीको माग गरेका थिए ।