देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

प्रभु बैंकले पायो ‘बैंक अफ दि इयर– २०२३’ को उपाधि

देशान्तर


काठमाडौं । प्रभु बैंकले ‘बैंक अफ दि इयर २०२३’ को उपाधि प्राप्त गर्न सफल भएको छ । बेलायतको लन्डनस्थित फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने पत्रिका ‘दि बैंकर’ले सन् २०२३ को ‘बैंक अफ दि इयर’ बाट प्रभु बैंकलाई सम्मान प्रदान गरेको हो । सन् २००० देखि ‘दि बैंकर’ ले गर्दै आएको ‘बैंक अफ दि इयर’ अवार्ड विश्वव्यापी बैंकिङमा सबैभन्दा प्रतिष्ठित अवार्ड हो ।
बैंक अफ दि इयर’ अवार्डलाई बैंकिङ उत्कृष्टताको मानक अर्थात् ‘बैंकिङ उद्योगको ओस्कार’ मानिन्छ । विश्व अर्थतन्त्र चौतर्फी मन्दीको मारमा रहे पनि प्रभु बैंक नयाँबजार र ग्राहकहरूको व्यवसायको विकास गर्न चुनौतीहरूको सामना गर्दै अधिक नागरिकलाई वित्तीय सेवा पु¥याएको, प्रतिस्पर्धी बैंकका बीचमा विकसित व्यावसायिक वातावरण बनाउन र बलियो वित्तीय कार्यसम्पादन गर्ने क्षमताको मूल्यांकन मापपदण्डका आधारमा अवार्डबाट सम्मानित भएको हो ।
‘दि बैंकर’ले विश्वभरका १२० भन्दा बढी राष्ट्रका एक हजारभन्दा बढी बैंकमध्ये हरेक राष्ट्रबाट एउटा उत्कृष्ट बैंकको छनोट गरी ‘बैंक अफ दि इयर’ बाट वर्षैपिच्छे सम्मानित गर्ने गरेको छ ।
बेलायतमा भएको समारोहमा प्रभु बैंक सञ्चालक समितिका अध्यक्ष लीलाप्रकाश सिटौला, बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले सम्मान ग्रहण गरेका छन् । अवार्ड वितरण समारोहमा १२० भन्दा बढी देशका ३५० भन्दा बढी बैंकका अध्यक्ष, सीईओ, सीएफओ र अन्य वरिष्ठ प्रबन्धकको सहभागिता रहेको थियो ।

सम्मान प्राप्तिपछि अध्यक्ष सिटौलाले नेपालको बैंकिङ प्रणालीको सफलतामा एउटा इँटा थप्न सफल भएको बताए । ‘वर्तमान अर्थतन्त्रको पृष्ठभूमिमा प्राप्त भएको यो सम्मानले बैंकिङ क्षेत्रमै हैसला प्रदान गरेको छ । हाम्रा सेवा र सेयरधनीलाई उचित प्रतिफल दिन थप मद्दत पुग्नेछ’ उनले भनेका छन् ।
त्यस्तै अवार्ड वितरण समारोहपछि सीईओ शेरचनले प्रभु बैंकका सञ्चालक तथा कर्मचारीहरूको मेहनत, सेयरधनी, सेवाग्राही तथा शुभचिन्तकको साथले सम्मान प्राप्त गर्न सफल भएको बताएका छन् ।
‘यो सुखद सन्देशन हाम्रो संस्था, सेयरधनी, कर्मचारी, सेवाग्राही तथा शुभचिन्तकका लागि मात्रै हैन, नेपालको बैंकिङ क्षेत्रकै सफलताको ठानेको छु । आगामी दिनमा नेपाली बैंकिङ क्षेत्रमा यस्तो सफलता थप प्राप्त हुँदै जानेछन् भन्ने विश्वाससमेत छ’ सीईओ शेरचनले भने । बैंकको सेवा थप प्रभावकारी बनाउने प्रतिबद्धतासमेत जनाएका छन् ।
२००६ सालमा प्रभु फाइनान्सबाट सुरु भएको हाम्रो यात्रा आफूलाई समयक्रमसँगै सृदृढ, विस्तारित तथा विभिन्न बैंकलाई समाहित गर्दै आजको सफलतासम्म आइपुगेको हो ।
प्रभु बैंक ३ सयभन्दा बढी शाखा सञ्जाल, ७१ एक्सटेन्सन काउन्टर, ३१० एटीएममार्फत देशव्यापी रूपमा ३१ लाखभन्दा बढी सेवाग्राहीलाई गुणस्तरीय बैंकिङ सेवा तथा सुविधाहरू प्रदान गरिरहेको छ । २०७९ पुसमा सेञ्चुरी बैंक प्रभुमा विलय गराएर एकीकृत कारोबार सुरु गरेको हो ।
सेञ्चुरीसहित बैंक, विकास बैंक र फाइनान्स कम्पनी गरेर ८ वटा बैंक तथा वित्तीय संस्था गाभिएका छन् । हाल प्रभु बैंकको चुक्ता पुँजी २३ अर्ब, सम्पत्ति करिब साढे तीन ३ खर्ब, निक्षेप संकलन साढे २ खर्ब र ऋण प्रवाह २ खर्ब ५३ अर्ब पुगिसकेको छ ।