देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शिवम् सिमेन्टको सहायक कम्पनी शिवम् होल्डिङ्सले १ करोड १६ लाख कित्ता आईपीओ जारी गर्ने

देशान्तर

काठमाडौं। शिवम् सिमेन्टमा करिब ८५ प्रतिशत हिस्सा रहेको शिवम् होल्डिङ्स लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ।जारी पुँजी ५ अर्ब ८० करोडको २० प्रतिशत बराबर हुने १०० रुपैयाँका दरको १ करोड १६ लाख कित्ता साधारण सेयरहरु सर्वसाधारणहरुका लागि नेपाल धितोपत्र बोर्डको स्वीकृतिमा सार्वजनिक निष्काशन गर्ने प्रक्रिया अगाडि बढाएको हो।

शिवम् होल्डिङ्स लिमिटेडका संचालक अध्यक्ष शिवरतन शारडाको उपस्थितिमा सिद्धार्थ क्यापिटल लिमिटेडसँग सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ति गर्ने सम्बन्धि सम्झौता गरेको छ।

सम्झौता अनुसार कम्पनीले सर्वसाधारणमा सेयर निष्कासन गरी बजारमा छरिएर रहेको स–साना पुँजीलाई संकलन गर्दै लगानी थप विस्तार गरी देशको अर्थतन्त्रमा योगदान पुर्‍याउँदै मुनाफा आर्जन गर्ने विश्वास लिएको छ।

शिवम् होल्डिङग्स २०७१ सालमा प्रालि कम्पनीको रुपमा दर्ता भएको थियो। २०७९ मा कम्पनी पब्लिक लिमिटेडमा परिणत भएको थियो। कम्पनीले नेपालको सबैभन्दा ठूलो सिमेन्ट तथा क्लिंकर उत्पादन क्षमता भएको अत्याधुनिक प्रविधियुक्त ग्रीनफिल्ड उद्योग संचालन गरिरहेको छ। यसले वेस्ट हिटको उपयोग गरि करिब १२ मेगावाट विद्युत समेत उत्पादन गरिरहेको कम्पनीले जनाएको छ। जसलाई कम्पनीले आफ्नै उद्योग संचालनमा प्रयोग गर्दै आएको छ।

कन्भेयरबेल्टबाट चुनढुंगा ढुवानी गर्न सुरुङमार्ग समेत निर्माण गरिरहेको चिनियाँ विदेशी लगानी समेत रहेको होङ्सी शिवम् सिमेन्ट प्रालिमा कम्पनीको ३० प्रतिशत सेयर स्वामित्व छ। विगत ५ वर्षदेखि पूर्ण संचालनमा रहेको प्रोजेक्टमा ठूलो रकम लगानी गरेको उक्त कम्पनीबाट प्रतिफलसमेत प्राप्त गर्न सुरु गरिसकेको छ।

शिवम् होल्डिङ्स लिमिटेडको अधिकृत तथा जारी पूँजी ५ अर्ब ८० करोड रुपैयाँमध्ये संस्थापक तर्फ ८० प्रतिशत अर्थात ४ अर्ब ६४ करोड रुपैयाँ र सर्वसाधारण तर्फ १ अर्ब १६ करोड रुपैयाँ सेयर पुँजी छुट्याई प्रिमियम मूल्यमा निष्कासन गर्ने प्रक्रिया प्रारम्भ गरेको हो।

यस कम्पनीका संस्थापकहरुमा शिवम् सिमेन्ट्स लिमिटेडको संस्थागत सेयर लगानी ८५ प्रतिशत र अन्य १९ जना विभिन्न व्यक्ति तथा संस्थाको १५ प्रतिशत सेयर लगानी छ।

सर्वसाधारणबाट संकलन हुने रकम अन्य उपयुक्त परियोजनाहरु जस्तै हाइड्रोपावर, बैंक तथा वित्तीय संस्था, पर्यटन क्षेत्र, पूर्वाधार परियोजना तथा अन्य उद्योग लगायतका क्षेत्रमा विस्तार गर्ने जनाएको छ।