देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

पुनः निर्वाचन नगरी ‘पेल्न‘ खोजिए अन्तिम समयसम्म लडछौ: आरके शर्मा

देशान्तर

काठमाडौँ । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को समानान्तर समितिका अध्यक्ष आरके शर्माले पुनः निर्वाचन नगरी ‘पेल्न‘ खोजिए अन्तिम समयसम्म लड्ने बताएका छन् । मङ्गलवार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा उनले एनआरएनएको निर्वाचनमा धाँधली गरिएको दोहो¥याउँदै सो विषय समाधानका निम्ति अध्यक्ष बद्री केसी पक्ष अग्रसर नभएको बताए ।

उनले निर्वाचन प्रक्रिया पारदर्शी हुनुपर्ने प्रणालीमा समस्या देखिएपछि केसी समाधानका लागि आउनुपर्नेमा त्यसो नगरेको बताए । संस्था राम्रोसँग अगाडि बढ्छ भने त्यसका आफू चुनाव नलड्न पनि तयार रहेको बताए । पत्रकार सम्मेलनमा अध्यक्ष शर्मा र महासचिव बुद्धि सागर सुबेदी द्वारा जारी विज्ञप्तिमा गत अक्टोबरमा भएको अनलाइन निर्वाचनमा विभिन्न ७ वटा गम्भीर त्रुटि भएको जिकिर गरिएको छ । यसका दोषीमाथि कडा कारबाहीको माग गरिएको छ ।

१९ अक्टोबर २०२३ मा अनलाइन प्रणालीबाट गराइएको निर्वाचनमा योजनाबद्ध धाँधली गरिएका प्रमाणहरू सहित परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको त्यसमाथि सुनुवाइ नभएको भन्दै उपाध्यक्ष गंगाधर गौतमले आवश्यक परे अदालत जाने बताए । उनले केसी समूहलाई कारबाही गरिने पनि चेतावनी दिए । पत्रकार सम्मेलनमा प्रहरीको अनुसन्धानबारे पनि केही नबताइएको भन्दै सत्य, तथ्य छानबिन गरी निर्वाचनमा योजनाबद्ध धाँधली गर्ने तथा संस्था कब्जा गर्न खोज्ने समूह विरुद्ध कडा कारबाही गर्न माग गरिएको थियो ।

महाधिवेशनको म्यान्डेट नपाएको अवैध समितिले संघको कोषबाट एकलौटी रूपमा अपचलन गर्ने तथा सचिवालयको दुरुपयोग गरेको भन्दै त्यस्तो कार्य अमान्य हुने अध्यक्ष शर्माले बताए । निर्वाचनमा प्रयोग भएको भेरो भोटिङ सिस्टममा त्रुटि भएको प्रमाणित भैसकेको उनको जिकिर थियो । जारी विज्ञप्तिमा विधानको दफा २१ः७ अनुसार अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया सुरु भए पछि निर्वाचनमा प्रभाव पार्ने गरी कुनै पनि नियमावली परिवर्तन वा परिमार्जन गर्न नपाइने व्यवस्था भए पनि निर्वाचन नियमावलीमा व्यापक परिवर्तन गरिएको नेपालमा आइसकेका केही प्रतिनिधिहरूको नामबाट विदेशबाटै अर्कैले मतदान गरिसकेको केही प्रमाणले अनलाइन भोटिङ सिस्टमको विश्वसनियतामा गम्भीर आशङ्का पैदा गरेको उल्लेख छ ।

तत्कालीन तीन जना अध्यक्षहरू कुल आचार्य, रबिना थापा तथा बद्री केसीले हस्ताक्षर गरी महाधिवेशनको सम्पूर्ण कार्यक्रम तत्कालका लागि स्थगित गर्ने र निर्वाचनमा भएका अनियमितताको दुई साताभित्र छानबिन गर्ने सहमति गरेको तर, उक्त सहमतिलाई उलङ्घन गरेर बद्री केसीले आफैलाई अध्यक्ष घोषणा गरेकाले त्यसमा आफूहरूको आपत्ति रहेकोले संस्थालाई एकताबद्ध बनाउनका लागि पुनः निर्वाचन गराउनुको विकल्प नरहेको पत्रकार सम्मेलनमा बताइएको थियो ।

कार्यक्रममा महासचिव बुद्धि सागर सुवेदीले नेपालीहरूको सुख दुखमा गैर आवासीय नेपाली सङ्घ सदैव साथै रहेको बताए । सोहीअनुसार जाजरकोट भूकम्प प्रभावितलाई राहत वितरण गरिएको बताउँदै उनले एनआरएनएको टोलीले भूकम्प प्रभावित समुदायलाई पहिलो चरणमा २ हजार थान कम्बल,५ सय थान त्रिपाल,४ हजार मिटर म्याट्रेस र खाद्यान्न वितरण गरेको जानकारी दिए । यस्तै सुवेदीले अध्यक्ष शर्माले आउँदो दुई वर्ष भित्र दस करोडको आपत्कालीन राहत तथा उद्धार कोष बनाउने घोषणा गरिसकेको पनि जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै युरोप संयोजक चिन्तामणि सापकोटाले आजै परराष्ट्रमा निवेदन दिएको बताए । उनले पनि प्रतिनिधि छनौट देखिनै बिधिबिधान विपरीत भएको दाबी गरे ।