काठमाडौं । कात्तिक १६ गते गएको भूकम्पका कारण थातथलो नै ध्वस्त हुँदा जाजरकोट र पश्चिम नेपालका गरिब तथा निमुखा जनताहरू चिसोमा बस्न बाध्य भएका छन् । सरकारले भूकम्प जानासाथ उद्धार समयमै गरे पनि त्यसपछिको राहत र पुनस्र्थापनाको कामलाई अघि बढाउन नसक्दा त्यहाँका जनताहरू अहिले चिसोका कारण मृत्युको मुखमा पुग्ने गरेका छन् । सरकारले अस्थायी टहरा बनाउनका लागि नगद दिने निर्णय गरे पनि अझैंसम्म त्यो रकम पुगेको छैन ।
भूकम्पको केन्द्रबिन्दु भएको जाजरकोट र पश्चिम रुकुमका जनताहरू जाडोका कारण मृत्युवरण गर्नुपर्ने अवस्थामा पुग्दा राजावादी र आफूलाई जनताको पार्टी भन्ने नेकपा एमालेले सडक संघर्ष सुरु गर्दा सधैं गरिब र निमुखा जनताको पक्षमा काम गर्ने नेपाली कांग्रेस पार्टी भने अहिले भूकम्प प्रभावितहरूका लागि अस्थायी टहरा निर्माणका लागि दिनरात खटिएको छ । विभिन्न टोली बनाएर जाजरकोट पुगेको नेपाली कांग्रेसले एक हजार अस्थायी टहरा बनाउने लक्ष्य लिएकोमा अहिलेसम्म एक सय अस्थायी घर टहरा निर्माण भइसकेका छन् । भूकम्प जानासाथ हेलिकप्टर र गाडीमा हुँइकिएका नेताहरू अहिले काठमाडौंमा मस्त घाम तापेर बस्दा नेपाली कांग्रेसले अस्थायी टहरा निर्माणका लागि जनशक्ति परिचालन गर्दा अरूले पनि त्यसको देखासिकी गरेर आफ्ना कार्यकर्ताहरूलाई पठाउने निर्णय गरेका छन् ।
कात्तिक १७ गते गएको भूकम्पलगत्तै सरकारले तत्काल उद्धारको काम गरे पनि वास्तविक समस्या अहिले देखिँदै छ । पुस लाग्दै गर्दा चिसो अत्यधिक बढेका कारण त्रिपालमुनि बसेका भूकम्पपीडितहरू अहिले मृत्युको मुखमा पुग्ने बाध्यताबाट मुक्त बनाउनका लागि नेपाली कांग्रेसको निर्णयअनुसार केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा जाजरकोट जिल्लाको नलगाड नगरपालिका रघुनाथ, ऐरारी, पोखरा र मुलिमा एक सय अस्थायी घर टहरा निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाइएको छ । अभियानमा गण्डकी प्रदेशसभा सदस्य डिल्लीराम सुवेदी, पालुङ्टार नगरपालिकाका पूर्वमेयर ई. दीपकबाबु कँडेल, नेपाली कांग्रेस जाजरकोटका नेताहरू महेन्द्र शाह, पुष्प बस्नेत, छवि पन्त, पूर्ण ओली, महासमिति सदस्य सुशील भट्ट, वडाध्यक्ष ओम ओली, नेपाल तरुण दलका नेता भागवत रेग्मी र नेविसंघका नेताहरू, ४१ जना मिस्त्री र ७५ जना स्थानीय स्वयंसेवकहरू संलग्न रहेका छन् ।
तिहारअघि नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा घटनास्थलमै पुगेर नमुना आवास निर्माण गरेर फर्किएका थिए । महामन्त्रीद्वय फर्किएपछि कांग्रेसले सरकारलाई मंसिर मसान्तभित्र अस्थायी आवास निर्माणको काम सम्पन्न गरिसक्न सरकारलाई सुझाव नै दिएको थियो । पुसको जाडोमा पीडितहरूको अवस्था भयावह हुने भएकाले अस्थायी आवास निर्माणको काम मंसिरभित्र सम्पन्न गरिसक्न प्रधानमन्त्रीलाई सुझाव दिएको कांग्रेस महामन्त्री थापाले बताएका थिए ।
कांग्रेसले स्थानीय र प्रदेश सरकारको नेतृत्वका पीडितको राहत, उद्धार र पुनस्र्थापनाको कामलाई प्रभावकारी बनाउन पनि सरकारलाई यसअघि नै भनेको छ । नेपाली कांग्रेसले महामन्त्रीद्वय थापा, शर्मा र केन्द्रीय सदस्य डा. गोविन्द पोखरेल नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनका लागि पठाएको थियो ।
प्रतिक्रिया