काठमाडौं । नेपाली फुटबलको क्रेज पछिल्लो समय ओरालो लाग्दै गएको छ । नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ पदाधिकारीकाबीचको झगडामा रुमल्लिएको छ । खेलाडीको प्रदर्शन पनि स्तरीय छैन भन्दा हुन्छ । पदाधिकारी निर्वाचित भएको छोटो समयमै अविश्वासको प्रस्तावपछि विशेष अधिवेशन बोलाएर एक चरण पार भए पनि अझैं यसका बाछिटाहरू बाँकी नै छन् । अहिले सारमा वर्तमान नेतृत्व नै यथावत् अवस्थामा देखिए पनि भविष्यमा देखिने नयाँ नियुक्ति र विदेश सयर पर्दाहरू खुल्दै जाँदा अहिले के भएका थिए भन्ने कुराको पटाक्षेप हुने नै छ ।
एन्फाले नियमित रूपमा लिग आयोजना गर्न नै सकेको छैन । खेलाडी र एन्फाको व्यावसायिक जीवनमा ए, बी र सी डिभिजन लिगको ठूलो महत्व हुन्छ । यी लिगहरू व्यावसायिक रूपमा सञ्चालन भए त्यसको प्रत्यक्ष फाइदा खेलाडी र एन्फा दुवैलाई पर्छ । तर लिग नै नियमित नहुँदा नेपाली फुटबल दिनप्रतिदिन ओरालो यात्रामा रहेको छ । नेपाली फुटबल खेल्ने सिनियर टोलीकै खेलाडी एकपछि अर्को गरेर पलायन हुँदा राष्ट्रिय टिम अहिले उमेरसमूहबाट काम चलाउनुपर्ने अवस्थामा आइपुगेको छ । केही सीमित सिनियर खेलाडी मात्रै टिमको हिस्सा हुँदा नेपाली फुटबलको बेन्च नै बलियो छैन भने प्लेयिङ ११ मा पनि पटकपटक नयाँ प्रयोग गर्नुपर्ने बाध्यता रहँदा यसले नेपाली फुटबललाई नतिजा दिन सकेको छैन । जसोतसो विश्वकप फुटबल छनोटको पहिलो चरण पार गरेको नेपाली फुटबल अहिले दोस्रो चरणको दुई वटा खेलमा खराब नतिजा निकाल्न पुगेको छ । यसले आगामी दिनमा नेपाली फुटबलको भविष्य झनै खराब छ भन्ने कुरालाई संकेत गर्छ ।
तर, यसबीचमा नेपाली फुटबलमा केही सकारात्मक सञ्चार गर्ने गरी फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) सुरु भएको छ । पहिलो संस्करण कोरोना महामारीका बेला बन्द रंगशालामा आयोजना गरिएकोमा यस संस्करणमा दर्शकको उपस्थितिमै खेलाइएको छ । तर, दर्शक नेपाली फुटबल हेर्नका लागि मैदानमै पुग्नुपर्छ भन्ने मान्यतामा खरो रूपमा उत्रन सकेका छैनन् । एक दशकअघि ए डिभिजन लिगमा स्थापित क्लबका खेल हेर्नका लागि लामै लाइन लाग्ने दर्शकमा अहिले त्यस्तो क्रेज देखिएको भने छैन । दशरथ रंगशालाको बाटो बिर्सिइसकेका दर्शकलाई फर्काउने चुनौती रहेको एनएसएलका निर्देशक श्रीयान्स कार्की स्वीकार गर्छन् । नेपाली फुटबलमा नयाँ मानक स्थापना गर्ने उद्देश्य बोके पनि फ्रेन्चाइज लिगको दोस्रो संस्करण सीमित समयको तयारी, फुटबल संघ र राष्ट्रिय खेलकुद परिषद्सँगको तालमेलमा ढिलाइ, राष्ट्रिय टोलीको अन्तर्राष्ट्रिय खेल तालिकालगायतका कारणले पनि भनेजस्तो तयारीका साथ भने सुरु हुन सकेन । पूर्वाधार अभावका कारण एउटै दशरथ रंगशालाले दिनहुँ गरेर भए पनि प्रतियोगिताका सबै ४० खेल गराउनु पर्नेछ ।
नेपाली फुटबल आफ्नो अस्तित्वको खोजी गरिरहेका बेला निजी क्षेत्रको आयोजना र सहभागितामा हुन लागेको प्रतियोगिताले आशाका किरणहरू छरेका छन् । यी किरणहरूले भोलिका दिनमा ज्योतिको काम गरेमा पक्कै नेपाली फुटबलको विकासमा निजी क्षेत्र पनि एक हिस्सा हुने पक्का छ । अहिले आफूहरूको उद्देश्य भनेकै नेपाली फुटबलको विकास गर्न र राष्ट्रिय टोलीले हात पार्ने सफलता नै आफूहरू थप उत्साहित हुने आयोजक संस्थाकी अध्यक्ष आश्रयता कार्की चौधरीको भनाइ छ ।
प्रतिक्रिया