काठमाडौं । वर्ष दिनभरिमा सबैभन्दा धेरै कर तिर्ने १६ क्षेत्रका व्यक्ति र संस्थालाई सरकारले उत्कृष्ट करदाताको रूपमा सम्मान गरेको छ ।
राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा बिहीबार अर्थमन्त्री डा.प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् ।
आर्थिक वर्ष २०७८/०७९ मा सबैभन्दा बढी व्यक्तिगत आयतर्फ कर तिर्ने जावलाखेल डिस्टिलरीका अध्यक्ष विजयकुमार शाह सम्मानित भएका छन् ।
अघिल्लो वर्ष पनि उनी नै व्यक्तिगत आयतर्फ सबैभन्दा धेरै आयकर बुझाएर सम्मानित भएका थिए । जावलाखेल ग्रुप एसियन डिस्टिलरी, विजय डिस्टिलरी, रोलिङ रिभर डिस्टिलरी, राज ब्रुअरी, हिमालयन डिस्टिलरी, जेजीआई डिस्ट्रिब्युसन, फुड एन्ड बेभरेज कम्पनी सञ्चालनमा छन्, जसले आफ्नै मौलिक तथा चर्चित अन्तर्राष्ट्रिय ब्रान्डका बियर, भोड्का, ह्विस्की, जिन, ब्रान्डी उत्पादन गर्दै आएको छ । चर्चित ब्रान्ड रुस्लान भोड्का विदेशमा पनि निर्यात हुने गर्छ । हिमालयन डिस्टिलरी लिमिटेड पुँजी बजारमा ब्लुचिप कम्पनीका रूपमा रहेको छ । जावलाखेल ग्रुपले विश्वकै चर्चित वर्डवाइजर र वार्सटाइनर बियर पनि नेपालमै अत्याधुनिक फ्याक्ट्री राखेर उत्पादन गर्दै आएको छ ।
यसैगरी, सर्वाधिक आयकर तिर्नेतर्फ नेपाल दूरसञ्चार कम्पनी पुरस्कृत भएको छ । निर्यात कारोबार क्षेत्रमा डाबर नेपाल, विशेष उद्योगमा एसियन पेन्ट्स, कृषि तथा पशुजन्य उद्योगमा ओबीसी फुड्स एन्ड फ्रिड कम्पनी, सहकारी तथा लघुवित्तमा छिमेक लघुवित्त वित्तीय संस्था र बैंक तथा वित्तीय क्षेत्रतर्फ ग्लोबल आईएमई बैंक सम्मानित भएका छन् ।
यस्तै बिमा व्यवसायतर्फ लाइफ इन्स्योरेन्स कम्पनी नेपाल, स्वास्थ्य शिक्षा प्रदायक संस्थातर्फ नोबेल मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ मनकामना दर्शन प्रालि, वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट, ५० करोडदेखि एक अर्ब रुपैयाँसम्म कर तिर्ने मध्यमस्तरीय करदातातर्फ नेपाल स्टक एक्सचेन्ज र ऊर्जामूलक उद्योगतर्फ भोटेकोशी जलविद्युत् कम्पनी सम्मानित भएका छन् ।
विप्रेषण व्यवसायतर्फ आईएमई लिमिटेड, संस्थागततर्फ सबैभन्दा बढी आयकर, मूल्य अभिवृद्धि, अन्तःशुल्क तिर्ने र पाँच वर्षको मूल्य अभिवृद्धि कर समयमा दाखिला गर्ने विधामा सूर्य नेपाल प्रालिलाई सरकारले सम्मान गरेको छ ।
सरकारले उत्कृष्ट करदातालाई एक वर्षका लागि विशेष प्रकारको परिचयपत्र उपलब्ध गराउने भएको छ । कार्यक्रममा अर्थसचिव कृष्णहरि पुष्करले उत्कृष्ट करदातालाई परिचयपत्र दिने प्रक्रिया आजैदेखि सुरु भएको जानकारी दिए । सो अवसरमा अर्थमन्त्री महतले कर प्रशासनमा उत्कृष्ट सेवा प्रवाह गर्ने कर्मचारीलाई सम्मान गरे । कार्यक्रममा अर्थमन्त्री महतले राजस्व संकलन बढाउन कार्यालयको सहज क्षेत्रबाट बाहिर निस्कन कर्मचारीलाई निर्देशन दिएका छन् । हरेक वर्ष मंसिर १ देखि ७ गते सम्मलाई सरकारले कर सप्ताहका रूपमा मनाउँदै आएको छ ।
प्रतिक्रिया