देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकप क्रिकेट

अस्ट्रेलिया फाइनलमा, उपाधिका लागि भारतसँग खेल्ने

देशान्तर

पाँच पटकको उपाधि विजेता अस्ट्रेलियाले आइसीसी विश्वकप क्रिकेटको फाइनलमा स्थान पक्का गरेको छ । विहीबार कोलकतामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले फाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमाले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेपछि पूरा टिम २१२ रनमा अलआउट भयो । लक्ष्य पछ्याउने क्रममा अस्ट्रेलिया पनि समस्यामा परेको देखियो तर अन्त्यमा कंगारु टोलीले जित निकाल्दै विश्वकपको फाइनलमा प्रवेश गरेको थियो । अस्ट्रेलिया आठौं पटक विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।

कप्तान बाभुमा र क्विन्टन डी कक ओपनिङ ब्याटिङको रुपमा मैदानमा आएका थिए । तर बाभुमाले पहिलो ओभर र पछि डी ककको सुरुमै विकेट गुमाए। एडेन मार्कराम र रस्सी भान डेर डुसेन पनि फ्लप भए र एक समयमा दक्षिण अफ्रिका टोलीले २४ रनमा ४ विकेट गुमायो तर मध्यक्रममा ब्याटिङमा आएका हेनरिक क्लासेन र डेभिड मिलरले बिस्तारै इनिङ्सलाई अगाडि बढाए । दुवै ब्याट्सम्यानले पाँचौं विकेटका लागि ९५ रन जोडे। ट्राभिस हेडले हेनरिक क्लासेन (४७ रन) को ठूलो विकेट लिए र अर्को बलमा मार्को जानसेनलाई शून्यमा प्याभिलियन पठाए।

डेभिड मिलर एक छेउमा उभिए, पहिले उनले जेराल्ड कोएट्जीसँग ५३ रन जोडे र त्यसपछि केशव महाराजसँग १९ रनको सानो साझेदारी गरे। डेभिड मिलरले छक्का प्रहार गर्दै आफ्नो शतक पूरा गरे र टोलीको स्कोर २०० भन्दा माथि पुर्याए । मिलरले प्याट कमिन्सबाट विकेट गुमाएपछि ५० ओभरअघि नै दक्षिण अफ्रिका २१२ रनमा सिमित भयो। डेभिड मिलरले ११६ बलमा ८ चौका र ५ छक्का सहित १०१ रनको पारी खेले । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र प्याट कमिन्सले ३–३ विकेट लिए भने जोस हेजलउड र ट्राभिस हेडले २–२ विकेट लिए ।

२१३ रनको लक्ष्य पछ्याउने क्रममा डेभिड वार्नर र ट्राभिस हेडले राम्रो सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ६.१ ओभरमा ६० रन जोडे। वार्नर २९ रन बनाएर प्याभिलियन फर्किए । त्यसलगत्तै मिचेल मार्स पनि शून्य रनमा आउट भए । स्टिभ स्मिथ र ट्राभिस हेडले ४४ रनको महत्वपूर्ण साझेदारी गरे । यस क्रममा ट्राभिस हेडले ६२ रनको उत्कृष्ट इनिङ खेले र मिडल अर्डरमा ब्याटिङमा आए । मार्नस लाबुस्चेन १८ रन बनाएर तबरेज शम्सीको शिकार बने भने ग्लेन म्याक्सवेलले १ रन बनाए । स्मिथ एक छेउमा उभिए र बिस्तारै जोस इंग्लिससँग इनिङ्सलाई अगाडि बढाए तर स्मिथ ३० रनको व्यक्तिगत स्कोरमा प्याभिलियन फर्किए।

अन्तिम ओभरमा जोस इंग्लिसले ४९ बलमा २८ रन बनाए भने मिचेल स्टार्क र प्याट कमिन्सले ४६ बलमा २२ रनको सुस्त साझेदारी गर्दै आफ्नो टोलीलाई फाइनलमा पुर्याएका थिए । मिचेल स्टार्कले ३८ बलमा १६ रन बनाए भने कप्तान कमिन्सले २९ बलमा अविजित १४ रन बनाए । दक्षिण अफ्रिकाका गेराल्ड कोएत्जी र तबरेज शाम्सीले २–२ विकेट लिए भने कागिसो रबाडा, एडेन मार्कराम र केशव महाराजले १–१ विकेट लिए ।

विश्वकप २०२३ को फाइनल खेल भारत र अस्ट्रेलियाबीच नोभेम्बर १९ मा नरेन्द्र मोदी स्टेडियममा हुनेछ । २० वर्षपछि फेरि एकपटक दुवै टोली विश्वकपको फाइनलमा भिड्दैछन् । सन् २००३ मा अस्ट्रेलियाले भारतलाई हराएर उपाधि जितेको थियो ।