काठमाडौं । कञ्चनपुर प्रहरीले जुवा खेल्ने ४२ जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाका विभिन्न स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो । सोमबार राति २ बजे विशेष सुराकीको आधारमा भीमदत्त नगरपालिका–१७ बाँसखेडास्थित भीमबहादुर ठगुन्नाको घरमा जुवा तास खेलिरहेका २८ जनालाई नगदसहित पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले आजसम्ममा जुवा खेल्ने ४२ जनालाई पक्राउ गरी तीन लाख पाँच हजार भन्दा बढी नगद रकमसमेत बरामद गरिएको जानकारी दिएका छन् ।
जिल्लाको बाँसखेडाबाट २८ जनासहित जुवा खालबाट दुई लाख ५८ हजार नगद बरामद गरिएको छ । त्यसैगरी भीमदत्त नगरपालिका–१६ मझगाउँबाट २५ हजार नगद, तास र ६ जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक थापाले जानकारी दिए । यस्तै बेलौरीबाट २२ हजार नगदसहित आठलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले चाडपर्व सुरक्षित बनाउन जिल्लाभर थप प्रहरी परिचालन गर्नुका साथै विशेष सुरक्षा योजनासमेत लागू गरेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
प्रतिक्रिया