काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सद्भाव र पारिवारिक एकतालाई खलबल पार्नबाट बचाउन टिकटकमा प्रतिबन्ध लगाउनुपरेको प्रष्टीकरण दिएका छन् ।
टिकटक बन्द गर्ने सरकारको उद्देश्य समाजमा विकृति, विसंगति र अराजकता फैलाउन चाहने प्रवृत्तिलाई रोक्न, नियमन गर्न भन्ने मान्यताबाट उत्प्रेरित भएर गरेको स्पष्टोक्ति थियो ।
मंगलवार भक्तपुरमा आयोजीत कार्यक्रममा टिकटक प्रतिबन्धको निर्णय सबै राजनीतिक दलको सहमतिका आधारमा गरेको बताए । तर प्रधानमन्त्री प्रचण्डको भनाई प्रति राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भने गलत अभिब्यक्ति दिएको भन्दै स्पष्ट पार्न भनेका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन् ‘प्रधानमन्त्री ज्यु ले मेरै अगाडि आज एक कार्यक्रममा गलत तथा भ्रमपुर्ण अभिव्यक्ति दिनु भयो । टिकटक बन्द गर्ने सन्दर्भमा सत्ता पक्षीय र विपक्षी सबै दलको सहमति र छलफल पछि निर्णयमा पुगेको बताउनु भयो । म लगायत रास्वपा का कुनै नेता सँग यस विषयमा कुनै औपचारिक अनौपचारिक छलफल वा सहमति भएको छैन । छदै छैन । प्रधानमन्त्री ज्युले यो गलत अभिव्यक्ति सच्याउनु हुने छ र कुन कुन दलले सहमति जनाएका हुन् भन्ने स्पष्ट पारिदिनु हुनेछ भन्ने विश्वास लिएको छु ’ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया