घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा अपराजित रहँदै सेमिफाइनल खेल्ने भएको छ । नेदरल्यान्ड्सलाई १ सय ६० रनले हराएसँगै भारत लिगका सबै खेलमा जितका साथ सेमिफाइनल खेल्ने भएको हो ।
जितको लागि ४ सय ११ रनको विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४७.५ ओभरमा २ सय ५० रनमा अल आउट भयो । नेदरल्यान्ड्सका तेजा निडामानुरुले ३९ बलमा १ चौका र ६ छक्कासहित सर्वाधिक ५४ रन बनाए ।
साइब्रांड एंगेलब्रेक्ट ८० बलमा ४ चौकासहित ४५ रनमा आउट भए । नेदरल्यान्ड्सका सबै ब्याटरले भारतविरुद्ध राम्रो सुरुवात गरेपनि ठूलो इनिङ खेल्न सकेनन् ।
ओपनर वेस्ली ब्यारेसी ४, म्याक्स ओडाउड ३०, कोलिन एकरम्यान ३५, स्कट एडवार्ड्स १७, बास डि लिड १२, लोगन भान बिक र रोलेफ भान मर मर्वेले १६–१६ रन बनाए ।
भारतका कुलदीप यादवले १० ओभरमा १ मेडनसहित ४१ रन खर्चेर २ विकेट लिए । रविन्द्र जडेजाले ९ ओभरमा ४९ रन खर्चेर २ विकेट लिए । जस्प्रित बुमराहले ९ ओभरमा १ मेडनसहित ३३ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराजले ६ ओभरमा २९ रन खर्चेर २ विकेट लिए । विराट कोहली र रोहित शर्माले एक एक विकेट लिए ।
त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ४ सय १० रन बनाएको थियो । भारतको जितमा श्रेयस ऐर ९४ बलमा १० चौका र ५ छक्कासहित सर्वाधिक १ सय २८ रनमा नट आउट रहे ।
लोकेश राहुल ६४ बलमा ११ चौका र ४ छक्कासहि १ सय २ रनमा आउट भए । चौथो विकेटका लागि राहुल र ऐरले १ सय २८ बलमा २ सय ८ रनको सानदार दोहोरो शतकीय साझेदारी गरेका थिए ।
भारतलाई ओपनर रोहित शर्मा र शुभमन गिलले ११.५ ओभरमा १ सय रन बनाउँदै राम्रो सुरुवात दिलाएका थिए । रोहित शर्मा ५४ बलमा ८ चौका र २ चौकासहित ६१ रन बनाउँदै आउट भएका थिए । गिल ३२ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा आउट भए । विराट कोहली ५६ बलमा ५ चौका र १ छक्कासहित ५१ रनमा आउट भए ।
नेदरल्यान्ड्सका बास डि लिडले १० ओभरमा ८२ रन खर्चेर २ विकेट लिएका थिए । रोलेफ भान मर्वे र पल भान मार्केनले समान एक एक विकेट लिए । लोगन भान बीकले १० ओभरमा १ सय ७ रन खर्चिदा विकेट लिन सकेनन् ।
भारत ९ खेलमा १८ अंकका साथ शीर्षस्थानमा रह्यो । दक्षिण अफ्रिका ९ खेलमा ७ मा जित र २ मा हारसहित १४ अंकका साथ दोस्रो स्थानमा रह्यो । अष्ट्रेलिया ९ खेलमा १४ अंक भएपनि नेटरनरेटका कारण तेस्रो स्थानमा रह्यो । न्युजिल्यान्ड ९ खेलमा ५ मा जितसहित १० अंकका साथ अन्तिम चारमा रह्यो ।
भारतले सेमिफाइनलमा १५ नोभेम्बरमा न्युजिल्यान्डसँग खेल्नेछ । १६ नोभेम्बरमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाबीच सेमिफाइनलमा प्रतिस्पर्धा हुनेछ । फाइनल १९ नोभेम्बरमा हुनेछ ।
प्रतिक्रिया