देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एन्फामा पंकजको गोल

देशान्तर


काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाभित्रको आन्तरिक खिचातानी छताछुल्ल भएको यो पहिलो पटक होइन । विगतमा गणेश थापा अध्यक्ष हुँदा पनि विवादहरू भइरहन्थे । फिफाको प्रतिबन्धमा परेपछि पद गुमाएका थापाले पछिल्लो समयमा सामाजिक सञ्जालबाट फुटबलका बारेमा चासो राखे पनि उनको कुराको सुनुवाइ त भएको छैन, तर विगतमा उनीसँग नजिक रहेकाहरूको हालिमुहाली अहिले पनि एन्फाभित्र व्यापक नै छ । पहिलो पटक एन्फाका अध्यक्षले अविश्वासको प्रस्ताव नै सामना गर्नु परेको छ । डेढ वर्षअघि तत्कालीन अध्यक्ष कर्माछिरिङ शेर्पालाई निर्वाचनमार्फत हटाउनका लागि गणेश थापासँग कुम जोडेका पंकजविक्रम नेम्बाङले चुनाव त जिते तर उनका योजनाअनुसार काम नगर्दा यी दुईका बीचमा फाटो नै आयो । यही मौका छोपेर कर्मा एन्ड उनको टिमले अविश्वासको प्रस्ताव नै दर्ता गराए र विशेष साधारणसभा नै भयो ।

हेटौंडामा भएको विशेष साधारणसभामा पंकजले आफूसँग बहुमत रहेको पुष्टि गरे पनि अर्को पक्षले यसलाई वहिष्कार नै गरेको थियो । ८९ मतभार रहेको एन्फामा अध्यक्ष हटाउनका लागि ५८ मत आवश्वयक रहेको थियो । तर, उल्टै पंकजले ५२ मत ल्याउँदा अर्को पक्ष भनिएका ३४ जनाले साधारणसभा बहिष्कार गरे भने ५३ मत खस्दा १ मत बदर भएको थियो । अहिले सतहमा पंकजले एन्फाभित्र गोल गरेको भनिए पनि कर्मा पक्षकै बीचमा आन्तरिक एकता नहुनु नै त्यो समूहको दुर्भाग्य हो । साधारणसभा माग गर्दा ४९ जनाको हस्ताक्षर बुझाएको कर्मापक्षले त्यसलाई कायम राख्न असफल भएको छ । यसबीचमा एन्फाभित्र हुने पदहरूको बाँडफाँडले कर्मातर्फका प्रतिनिधिहरू मोलाहिजामा लाग्दा पंकज बलियो भएका छन् । अब तिहारलगत्तै एन्फाभित्र को, कसले नियुक्ति पाउँछन् त्यसपछि यसको सम्पूर्ण पटाक्षेप हुने पक्का छ ।

अहिलेलाई तत्कालका लागि फुटबलभित्र पंकजले गोल गरे पनि नेपाली फुटबल इतिहासकै खराब अवस्थामा रहेको बेला मैदानभित्रको नतिजाले पनि थप धारणा बनाउन मद्दत पुग्नेछ । यसबीचमा नेपालले फिफा विश्वकपको दोस्रो चरणमा स्थान बनाएकाले खेल गतिविधि त पक्कै ७ महिनासम्म कायमै रहने छन् ।