गणेशमान सिंहको जन्मदिन र सुवर्णशमशेरको पुण्यतिथि । नेपालमा प्रजातन्त्रको स्थापना र पुनस्र्थापनाका लागि दुवैले आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभयो तर जति गणेशमान सिंह भाग्यमानी सावित हुनुभयो, सुवर्णशमशेरलाई त्यस्तो सौभाग्य प्राप्त हुन सकेन । उत्तिबेलाको नेपालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलाई गणेशमान सिंहले जुन कौशलताका साथ प्रयोग गर्न सफल हुनुभयो, त्यस्तो अवसर सुवर्णशमशेरलाई मात्र होइन, बीपी कोइरालालाई समेत उहाँको जीवनकालमा उपलब्ध भएन । यद्यपि उहाँहरू दुवैको कुशल नेतृत्वमा विभिन्न ऐतिहासिक कालखण्डमा प्रजातन्त्र र कांग्रेसको स्थापना, विकास र विस्तारको जुन अत्यन्त मजबुत जग खडा भएको थियो, गणेशमान सिंहले त्यसैमा तला थपेर प्रजातन्त्र पुनस्र्थापनाको अभियानलाई सफलताको शिखरमा पु¥याउनु हो, तथापि बीपी कोइराला र सुवर्णशमशेरले अधुरो छाड्नु भएको काम पूरा गर्ने महान् अवसर गणेशमान सिंहलाई प्राप्त भयो । उहाँले उपलब्ध परिस्थितिको सही सदुपयोग मात्र गर्नु भएन, राजा महेन्द्रले अपहरण गरेको संसदीय प्रजातन्त्र, ३० वर्षपछि जनतालाई फर्काउन बाध्य पार्ने जनआन्दोलनको नेतृत्व गर्नुभयो । फलस्वरूप निर्दलीय पञ्चायत नामको अधिनायकवादी व्यवस्थाको अन्त्य र संसदीय व्यवस्थाको पुनस्र्थापना सम्भव भयो ।
गणेशमान सिंह, जुनबेला गंगालाल श्रेष्ठका साथमा नेपालको पहिलो जनविद्रोहको नेतृत्व गर्ने प्रजा परिषद्मा सामेल हुनु भएको थियो, त्यसबेला उहाँको परिवार राणापछिको समृद्ध र सम्पन्न मानिन्थ्यो । सरकारी पद र सामाजिक प्रतिष्ठामात्र होइन, धन सम्पत्ति आर्जनका लागि पनि राणा शासनको कृपा प्राप्त थियो । उहाँका जेठाबाजे रत्नमान, राणा प्रधानमन्त्रीहरूका विश्वासपात्र वरिष्ठ पदाधिकारी हुनुहुन्थ्यो, जो कालान्तरमा बडाकाजीसम्म हुनुभयो । सरदार गुञ्जमानलगायत अन्य काकाहरू कोही मीरसुब्बा थिए भने कोही सुब्बा भएर काम गरिरहेका थिए । उनीहरू सबैलाई राणाका दरबारमा प्रवेश खुला र निर्वाध थियो ।
राणाबाट त्यत्ति ठूलो कृपा पाएको परिवारभित्र हुर्किनु भएका गणेशमान सिंह, बचपनदेखि नै राणा र जनताका छोराका बीचको भेदभावका कारण विद्रोही बन्नु भएको थियो । दरबार स्कुलमा पढ्दा कुनै राणाले आफूलाई तँ भनेको विरोधमा आफूले पनि उसलाई तँ भनेको र उसले हात छोड्न खोजेको प्रतिकारमा गालामा डाम बस्नेगरी चड्कन दिएको घटना हेडमास्टरकहाँ पुग्दा उनले पनि राणाको छोराले गाली गरे र हात छाडे भन्दैमा तैंंले पनि उनीहरूकै बराबरी गरेर मुख छाड्न र हात हाल्न हुन्छ भनेर उल्टै दण्डित गर्न खोजेपछि स्कुलबाट सुइँकुच्चा ठोक्नु भएका गणेशमान सिंहले त्यसैबेला त्यस्तो भेदभाव र पक्षपातका विरुद्ध विद्रोह गर्ने तर कुनै हालतमा आत्मसमर्पण नगर्ने संकल्प गर्नु भएको थियो ।
उहाँको त्यही अठोट र संकल्पले गंगालालका साथमा उहाँलाई प्रजा परिषद्मा प्रवेश गराएको थियो । प्रजापरिषद्ले विसं १९९७ सालमा राणा शासनका विरुद्ध जनतालाई विद्रोह गर्न आह्वान गरेको आरोपमा अमर सहिदहरू– दशरथ चन्द, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र शुक्रराज शास्त्रीलाई फाँसी र टंकप्रसाद आचार्य, गणेशमान सिंहलगायत दर्जनौं व्यक्तिलाई सर्वस्वसहित जन्मकैदको सजाय गरिएको थियो । उहाँले २००१ सालमा जेलबाट भागेर भारत जानु भएपछि बीपी कोइरालासँग मिलेर २००३ सालमा राष्ट्रिय कांग्रेस गठन गर्नुभयो र संगठित आन्दोलन थाल्नुभयो ।
उता सुवर्णशमशेर राणा, श्री ३ महाराज तथा प्रधानमन्त्री भीमशमशेरका नाति हुनुहुन्थ्यो, जो १०४ वर्षको राणा शासनकालमा २८ वर्षसम्म प्रधानसेनापति र झन्डै तीन वर्ष प्रधानमन्त्री भएकाले उहाँ चन्द्रशमशेरका तुलनामा धनी नभए पनि अरू राणाभन्दा कम धनी हुनुहुन्नथ्यो । हिरण्यशमशेर, भीमशमशेरका ल्याइते श्रीमतीबाट जन्मेका छोरा हुनाले सुवर्णशमशेर पनि रोलवाला राणाहरूबाट लखेटिनु अस्वाभाविक थिएन । उहाँ धनमा कोहीभन्दा कम हुनुहुन्नथ्यो । उहाँको काठमाडौंमा ललिता निवासजस्तो भव्य दरबार मात्र होइन, कलकत्ताको क्यामेक स्ट्रिटमा पनि वारेन हेस्टिङका मित्रले बेचेको शाही ठाँटको दरवारमा बस्ने गर्नुहुन्थ्यो ।
राणा शासनको मुख्य आधार भनेको सेना हो र त्यसको अन्त्य पनि सेनाको प्रयोगबिना हुन सक्तैन भन्ने निष्कर्षका आधारमा सुवर्णशमशेरले नेपाल प्रजातन्त्र कांग्रेसको गठन र मुक्ति सेनाको निर्माण गर्नु भएपछि राष्ट्रिय कांग्रेस र प्रजातन्त्र कांग्रेस मिलाएर नेपाली कांग्रेस निर्माण भएको थियो । २००७ सालको सशस्त्र क्रान्ति र त्यसबाट राणा शासनको अन्त्य र प्रजातन्त्रको सूत्रपात भएकाले बीपी कोइराला, गणेशमान सिंह र सुवर्णशमशेरको सपना साकार भएको थियो ।
२०१७ सालमा राजाबाट प्रजातन्त्रको अपहरणपछि फेरि प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन अपरिहार्य हुन पुग्यो । त्यो आन्दोलन तीन चरणमा भएको थियो । २०१७ सालदेखि २०२७ सम्म सुवर्णशमशेरको नेतृत्वमा, २०२७ देखि २०३९ सम्म बीपी कोइरालाको नेतृत्वमा र २०३९ सालदेखि २०४६ सम्म गणेशमान सिंहको नेतृत्वमा । माथि नै भनियो, नियतिले सफलताको श्रेय गणेशमान सिंहलाई दियो, जसले आफ्ना दुवै नेताका अधुरा कामका साथै नेपाली जनताको चिरप्रतीक्षित आकांक्षा पूरा गरेर नयाँ नेपाल निर्माणको ढोका ह्वाङ्गै पारेर खोलिदिनु भयो । अब त्यो अभियानको नेतृत्व नयाँ पुस्ताका काँधमा आइपरेको हो । तर त्यो पुस्ता लाहुरे बन्ने होडमा लागेर पलायन भइरहेकाले पुरानो र थाकेको पुस्ताले कतिन्जेल धान्ने हो, त्यो पीडादायी बिजोग व्यहोर्न मुलुक अभिशप्त छ ।
प्रतिक्रिया