काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली कांग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरुको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।
काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने रहेको छ ।
सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताउनुभयो । उहाँले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँनुहुँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उहाँहरुले राहतका लागि आफूहरु सुरुवात गरेको बताउनुभयो । यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’ प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताउनुभयो । उहाँले नेपालीहरुमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपदामा झैं यसपटक पनि सबै एकजुट भएको बताउनुभयो ।
त्यसैगरि नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरु सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थियो ।
प्रतिक्रिया