देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

विश्वकपमा पराजित भएपछि श्रीलङ्का क्रिकेट बोर्ड बर्खास्त

देशान्तर


काठमाडौं । विश्वकपमा भारतसँगको शर्मनाक हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमबार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरेका छन् । व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको मुलुकको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ ।श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ ।

कोलम्बोमा मन्त्री रणसिङ्घले भने , “पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनरजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति थिए टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो ।” उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यी प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिए । रणतुङ्गाले क्रिकेट पुनरनिर्माणको चुनौती स्वीकार गरेको बताए । “श्रीलङ्का क्रिकेटलाई देशको सबैभन्दा भ्रष्ट संस्थाका रूपमा चिनिन थालेको छ, म त्यो छवि परिवर्तन गर्न चाहन्छु”, उनले भने । बोर्डका सचिव एवं दोस्रो सबैभन्दा ठूला अधिकारी मोहन डि सिल्भाले पदबाट राजीनामा दिएको एक दिनपछि बोर्डलाई बर्खास्त गरिएको हो ।

गत साता विश्वकपमा आयोजक भारतसँग श्रीलङ्काको तीन सय दुई रनको हारपछि मन्त्री रणसिङ्घेले सार्वजनिकरूपमा सम्पूर्ण बोर्डको राजीनामा माग्नुभएका थियो । मुम्बईमा भारतको तीन सय ५८ रनको स्कोरलाई पछ्याउँदा श्रीलङ्का एक समयमा १४–६ को स्थितिमा थियो र ५५ रनमा अलआउट भयो । यो विश्व कपको इतिहासमा चौथो सबैभन्दा कम स्कोर हो । उक्त हारपछि सार्वजनिक आक्रोश बढ्यो र शनिबार आक्रोशित विरोध प्रदर्शन भएपछि कोलम्बोमा बोर्डको कार्यालयबाहिर प्रहरी परिचालन गरिएको थियो ।

मन्त्री रणसिङ्घेले श्रीलङ्का क्रिकेट अधिकारीहरूलाई पदमा बसिरहने कुनै नैतिक अधिकार नभएको बताए । उनले बोर्डमाथि ‘देशद्रोही र भ्रष्ट’ भएको आरोप लगाउँदै भने, “तिनीहरूले स्वेच्छिक राजीनामा दिनुपर्छ ।” श्रीलङ्काले सोमबार बङ्गलादेशसँग खेल्दैछ । विश्वकपको अन्तिम चारमा आफ्नो स्थान बनाउन उसलाई गणितीय चमत्कारको आवश्यकता छ ।