काठमाडौं ।संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, दोस्रो नेकपा एमाले र तेस्रो दल नेकपा माओवादी केन्द्र गरी ठूला र पुराना भनिएका यी तीन वटै दल विवादैविवादले जेलिएका बेला कांग्रेस र एमालेले बडादशैं, तिहार, छठ तथा नेपाल सम्वत्लगायत पर्वको अवसरमा गत साता चियापान समारोह गरी मुलुकमा क्रियाशील सबै दलका नेता कार्यकर्तासहित सर्वसाधारणसँग चाडबाडको शुभकामना साटासाट गरे पनि पार्टीभित्र र पार्टीहरूका बीचमा कतै पनि एकता, सहमति र सहकार्यका सम्भावना देखिएका छैनन्, बरु हरेक पार्टीमा एकपछि अर्को गरी नयाँ विवादका विषय थपिँदै गएका छन् । कोजाग्रत पूर्णिमाको दिन कांग्रेसले पार्टी कार्यालयमा आयोजना गरेका चियापानमा सभापति शेरबहादुर देउवाले त पत्रकारहरूबाट तपाईंकै पार्टीमा एकता छैन, तपाईंले चियापान आयोजना गरेर कसरी एकताको सन्देश दिनुहुन्छ भन्ने प्रश्नको समेत सामना गर्नुप¥यो ।
सत्ता गठबन्धनको सबैभन्दा ठूलो र मुख्य दल कांग्रेसमा अहिले पार्टी र सरकार सञ्चालनका विषयलाई तीव्र विवाद छ भने पछिल्लो समयमा कोशी प्रदेशको मुख्यमन्त्रीलाई लिएर नयाँ विवादको विषयले प्रवेश पाएको छ, जसका कारण सभापति देउवा र नेता शेखर कोइरालाबीच फाटो बढेको छ । संघीय सत्ता गठबन्धन नै धरापमा पर्ने सम्भावना बढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवा र नेता शेखर कोइराला बसेर चिर्कटे सहमति गर्नुपर्ने अवस्था नै आयो । आसन्न महासमिति बैठकका एजेन्डालाई लिएर पनि कांग्रेसका नेताहरूबीच एकमत हुन नसकिरहेका बेला जघन्य अपराधमा कैद सजाय भोगिरहेका नेपालगन्जका रिगल भनिने योगराज ढकाललाई दिइएको माफीको विषयले पनि कांग्रेसका पदाधिकारीबीच नै विवाद बढाएको छ ।
जननायक बीपी कोइरालाले २०३३ सालमा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि हरेक वर्ष दशैंको कोजाग्रत पूर्णिमामा चियापानको आयोजना गर्न थालेका थिए भने त्यसैको पदचाप पछ्याउँदै उनीपछिका सभापतिहरूले पनि बर्सेनि चियापानको आयोजना गर्ने गरेका छन् । यसरी आयोजना गरिने चियापानले एकता, सहमति र सहकार्यको सन्देश दिने भएपनि पछिल्ला केही वर्षयता राजनीतिक दल तथा तिनका नेताहरू सत्ता, शक्ति र व्यक्तिगत स्वार्थमा लिप्त हुँदा चियापान समारोह औपचारिकतामा सीमित हुँदै गएको राजनीतिक क्षेत्रका जानकारहरूले टिप्पणी गर्ने गरेका छन् ।
कांग्रेसको सिको गर्दै चियापानको आयोजना गर्न थालेको एमालेमा पनि मेलभन्दा बढी बेमेल छ । अध्यक्ष केपी ओलीको खुलेर आलोचना गर्न अन्य नेताहरू हिच्किचाए पनि भित्री रूपमा अधिकांश नेताहरू ओलीसँग रुष्ट छन् । त्यसमाथि उनले अन्य दलका नेता तथा कार्यकर्ताका बारेमा गर्ने छुद्र टिप्पणीले उनकै कद होचो बनाइरहेको छ ।
कांग्रेस र एमालेले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी विभिन्न दलहरूले आफूहरूबीच राष्ट्रिय मुद्दामा साझा धारणा र एकमत हुने दाबी गरे पनि व्यवहारमा पटक्कै देखिएको छैन । आफ्नै पार्टीभित्र एकता कायम गर्न नसक्ने र साझा धारणा बनाउन नसक्ने नेताहरूले अन्य पार्टीहरूका बीचमा सौहार्द्रता बढाउन नसक्ने राजनीतिक विश्लेषकहरूको टिप्पणी छ ।
प्रतिक्रिया