काठमाडौँ । नेपाली कांग्रेसले जाजरकोट भूकम्पका कारण सिर्जित परिस्थितिका कारण तिहारअघिका पूर्वनिर्धारित सार्वजनिक कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ। तर, महासमिति सदस्य चयनको आन्तरिक कार्यक्रम भने जारी रहने छ ।
पार्टीको सम्पूर्ण ध्यान भूकम्प प्रभावित क्षेत्रमा केन्द्रीत गर्न आवश्यक रहेकोले केन्द्र, प्रदेश हुँदै पालिका स्तरसम्म पार्टीले आयोजना गर्न लागेका पूर्व निर्धारित तिहारसम्मका सम्पूर्ण कार्यक्रमहरु स्थगित गर्ने निर्णय गरिएको छ । पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
भूकम्पका कारण ठूलो संख्यामा भएको मानवीय तथा भौतिक क्षति र सयौंको संख्यामा आम नागरिकहरु घाइते भएको घटनाले सम्पूर्ण नेपालीलाई नै शोक विह्वल र स्तब्ध बनाएको भन्दै कांग्रेसले स्वदेश र विदेशमा रहेका सबैलाई तन, मन र धनका साथ खुला हृदयले मानवीय सेवाको अभियानमा जुट्न सबैमा अपिल समेत गरेको छ ।
यसैगरी नेकपा माओवादी केन्द्रले शनिबारका लागि निर्धारण गरेको शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको छ । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीद्वारा सञ्चालित अभियानका क्रममा शनिबारलाई आयोजित शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरिएको हो ।
प्रतिक्रिया