देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्ने तयारी : मौन अवधिको व्यवस्था नहुने प्रस्ताव

देशान्तर

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभाको निर्वाचन माघको दोस्रो हप्तासम्ममा गर्नेगरी तयारी गरेको छ । आयोगले अगामी फागुन २१ गते रिक्त हुन आउने १९ जना राष्ट्रियसभा सदस्य पदका लागि माघको दोस्रो हप्ता सम्ममा निर्वाचनको तयारी गरेको हो । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो कुरा जानकारी गराए ।

उनले फागुन २१ गते २० जना राष्ट्रिय सभा सदस्यको पद रिक्त हुने र त्यसमध्ये १९ जनाको ठाउँमा निर्वाचन गर्नुपर्ने बताए । आयोगले माघको १०, ११ अथवा १२ गते भित्रमा निर्वाचन गर्नेगरी तयारी गरिरहेको बताए । त्यसैगरी रिक्त रहेको स्थानमा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहका विभिन्न पदहरुमा आगामी वैशाख महिनामा निर्वाचन गर्नेगरी सरकारलाई परामर्श दिइएको उनको भनाइ छ ।

निर्वाचन आयोगले ७ वटा निर्वाचन कानुनलाई समेटेर बनाएको एकीकृत निर्वाचन कानुनको मस्यौदामा मौन अवधिको व्यवस्था नहुने प्रस्ताव गरिएको छ ।  थपलियाले अब बन्ने कानुनमा मौन अवधिलाई हटाइएको बताए । 

त्यसको सट्टामा मतदान हुने समयभन्दा २४ घण्टा अगाडि चुनाव प्रचार प्रसार गर्न नपाइने प्रावधान राखिएको छ ।

कानुनको सो मस्यौदामा निर्वाचनको मिति कानुनमै तोकिने, राजनीतिक दलले ३३ प्रतिशत महिला प्रत्यक्ष निर्वाचन प्रणालीमा अनिवार्य उठाउनुपर्ने व्यवस्था समेत राखिएको बताए ।