देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

बाँकेमा बुधबार मदिरा विक्री, वितरण तथा उपभोगमा प्रतिबन्ध

देशान्तर


काठमाडौं । बाँकेमा भोलि बुधबारका दिन मदिरा विक्री वितरण तथा उपभोग गर्न नपाइने भएको छ । बडादसैँको भोलिपल्ट बुधबारका दिन निस्कने दुर्गा मूर्ति विसर्जन ¥यालीलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन जिल्ला प्रशासन कार्यालय बाँकेले आज एक सूचना जारी गर्दै मदिरा बिक्री वितरण तथा उपभोगमा प्रतिबन्ध लगाएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको सूचनामा बुधबार बिहान ८ बजेदेखि राति १२ बजेसम्म मदिराजन्य पदार्थको ओसारपसार, विक्री वितरण तथा उपभोग निषेध गरिएको उल्लेख छ । सूचनाको बर्खिलाप हुने गरी कुनै गतिविधि भएमा कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ ।

प्रशासन कार्यालयले दुर्गा मूर्ति विसर्जनका लागि समय सीमा समेत निर्धारण गरेको छ । दुर्गा भवानीको मूर्ति विसर्जन ¥याली अत्यन्तै मर्यादित, अनुशासित, शान्त एवम् शौम्य तुल्याउन साँझ ५ बजेअघि नै मूर्ति विसर्जन सम्पन्न स्थानीय प्रशासनले अनुरोध गरेको छ । बाँकेमा बडादसैँको भोलिपल्ट जिल्लाका विभिन्न स्थानबाट दुर्गा भवानीको मूर्ति पवित्र जलकुण्ड र नदी तथा घाटमा विसर्जन गर्ने परम्परा छ ।