देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

गल्फ काउन्सिल र आसियान बीच गाजा घटना बारे छलफल

देशान्तर


काठमाडौं । खाडी सहयोग परिषद् र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन (आसियान) का नेताहरूले शुक्रबार गाजामा भएको पछिल्लो घटनाक्रमको समीक्षा गरेका छन् ।
साउदीको राजधानी रियादमा आयोजित पहिलो सो संयुक्त शिखर सम्मेलनका क्रममा सहभागीहरूले मध्य पूर्वमा विकसित पछिल्लो घटनाक्रम बारे विचार आदानप्रदान गर्दै गम्भीर चिन्ता व्यक्त गरेको साउदी प्रेस एजेन्सीले उल्लेख गरेको छ ।
सहभागी नेताहरूले नागरिकहरू विरुद्ध भएका सबै प्रकारका आक्रमणहरूको निन्दा गर्दै गाजामा मानवीय सहायता, राहत सामग्री र अन्य आवश्यकतामा नागरिकहरूको प्रभावकारी पहुँच सुनिश्चित गर्न र गाजामा विद्युत, पानी र सबै किसिमका अत्यावश्यक सेवाहरू पुनः सञ्चालनमा ल्याउन पहल गर्न सबै सम्बन्धित पक्षहरूलाई अपिल गर्दै दिगो युद्धविरामको आह्वान गरेका छन् ।
शिखर सम्मेलनले द्वन्द्वरत पक्षहरूलाई नागरिकहरूको सुरक्षा गर्न र उनीहरूलाई लक्षित नगर्न र अन्तरराष्ट्रिय मानवीय कानूनको पालना गर्न आह्वान गरेको छ ।सम्मेलन बन्दीहरूको तत्काल र निःशर्त रिहा गर्न पनि आग्रह गरेको छ ।
शिखर सम्मेलनले अन्तरराष्ट्रिय कानून र सान्दर्भिक संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को प्रस्ताव अनुसार समास्याको समाधानका लागि प्रयासमा जोड दिएको छ ।
साउदी राजा सलमान बिन अब्दुलअजीज अल साउदको निमन्त्रणामा भएको शिखर सम्मेलनले दुई सङ्गठन बीचको सहयोगको समीक्षा र क्षेत्रीय र अन्तरराष्ट्रिय मुद्दाहरू बारे विचार आदानप्रदान पनि गरेको थियो ।