काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी चुनावमा नेपाली कांग्रेसले गठबन्धन गरे पार्टी एक नरहने बताएका छन् ।
प्रेस युनियनले आज आयोजना गरेको चियापान तथा शुभकामना आदान–प्रदान कार्यक्रममा थापाले भने, ‘०८४ सालमा चुनावमा जाँदै गर्दाखेरि हामी त अब गठबन्धनमा जाँदैजाँदैनौं । कसैले कल्पनै नगरे हुन्छ । गठबन्धन गरेर जान्छु भनेर भन्यो भनेदेखि त्यो बेलामा नेपाली कांग्रेस पार्टी एक रहने कुरामा कल्पनै नगरे हुन्छ ।’
निर्वाचन अगाडि गरिने गठबन्धनले प्रकारान्तरमा लोकतान्त्रिक संस्कृतिकलाई विकृत बनाउने थापाको भनाइ छ । महासमितिको बैठकले कांग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने उनले बताए ।
थापाले पपुलिजम रोगका रुपमा देखिएको बताउदै यसका बिरुद्ध प्रेस उभिनु पर्ने बताए । पार्टीभित्रको समस्या र अन्यायबारे आगामी महासमिति बैठकमा गम्भीर छलफल हुने थापाको भनाइ छ ।
उनले जनयुद्ध दिवस कांग्रेसले नमान्ने बताउदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राम्रा काम आफूले र नराम्रो काम कांग्रेस गरेको आरोप लगाएको बताए ।
गत निर्वाचन पछि कांग्रेस ठुलो पार्टी बनेपछि सभापति शेरबहादुर देउवाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भनेको र त्यो स्वाभाविक भएको भन्दै त्यतिवेला कांग्रेसको प्रस्ताव केपी ओलीले स्वीकारेको भए कांग्रेस एमालेको सरकार बन्ने सम्भावना रहेको बताए । उनले गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले विद्रोह गरेर ओलीसँग वार्ता गरेको भएपनि असफल भएको सुनाए । कांग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले नमानेको उनको भनाई थियो ।
महामन्त्री थापाले बर्तमान सरकारको काम कारबाहीप्रति पनि असन्तुष्टि जनाए । अब कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो भने २५ जना मन्त्री नै कांग्रेसकै बन्नुपर्ने र अर्कोको नेतृत्वमा सरकार बनेको बेला उसैको पार्टीलाई सम्पूर्ण रूपमा सरकार चलाउन दिनुपर्ने थापाको भनाइ थियो । थापाले राष्ट्रिय सहमतिको सरकार बनाउँदा झन् धेरै भाग लगाउनुपर्ने भएकाले त्यसो गर्न नहुने उनको भनाइ छ ।
उनले संसदीय दलको निर्वाचनमा आफूले ३६ मत पाउने अवस्था रहेकोमा २५ मत मात्र पाएको र त्यस समयमा खुट्टा कमाएकाहरूले नै अहिले विद्रोहको कुरा गरेको र आफु मुसुमुसु हाँस्ने गरेको बताए । उनले अहिले बागमती प्रदेशको सरकार ढालेर कांग्रेस नेतृत्वको सरकार बाउनु पर्ने आवाज उठेको पनि बताए । बागमती प्रदेश सरकार ढाल्ने विषयमा आज बिहानमात्रै पार्टीका चार सांसद आफूकहाँ आएको महामन्त्री थापाले बताए । उनले यसबारेमा आफूलाई थाहा नभएको भन्दै सभापति र वरिष्ठ नेतालाई भन्न सुझाएको बताए ।
प्रतिक्रिया