देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालको लगातार दोस्रो जित

देशान्तर

काठमाडौँ । एसीसी यू—१९ प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हात पारेको छ । नेपालले आइतबार आफ्नो दोस्रो खेलमा बहराइनलाई सात विकेटले पराजित गरेको हो । मलेसियामा जारी प्रतियोगितामा बहराइनले टस जिती पहिले ब्याटिङ गर्दै ३७.५ ओभरमा अलआउट हुनुअघि ७७ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने ११.४ ओभरमा केवल तीन विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको थियो । नेपालको जितमा ओपनर ब्याट्सम्यान अर्जुन कुमालले ३२ रनको योगदान गरे । उनले ३१ बलको सामना गरी पाँच चौका पनि हिर्काएका थिए । कप्तान देब खनालले पनि टोलीको जितमा ३२ रनको योगदान गरे । उनले २७ बलमा एक छक्का र चार चौका प्रहार गरे ।

त्यसअघि ओपनर ब्याट्सम्यान दिपक बोहराले तीन बलमा एक चौकाको मद्दतले चार रन बनाएका थिए । उत्तम थापामगर भने शून्य रनमै पेभेलियन फर्किए । दिपक डुम्रेले एक रन मात्र जोडे । नेपाली टोलीको तीनवटै विकेट एनस ओबाइद सैयदले लिएका थिए ।नेपाली टोलीका बलर दिपेश कँडेलले ६ विकेट लिए । उनले ९.५ ओभरमा आठ मेडन राख्दै केवल चार रन खर्चिएका थिए । दुर्गेस गुप्ताले पनि चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल २२ रन खर्चिएका थिए । नेपालले आफ्नो तेस्रो खेल अक्टोबर १९ मा साउदी अरेबियासँग खेल्नेछ । प्रतियोगितामा १६ राष्ट्र सहभागी छन् । नेपाल प्रतियोगिताको समूह ‘ए’ मा छ । दुई खेलबाट चार अंक जोड्दै नेपाल तालिकाको पहिलो स्थानमा आसिन छ ।

एक खेलबाट दुई अंक बटुलेको साउदी अरेबिया तालिकाको दोस्रो स्थानमा छ । बहराइन र इरानले भने एक खेल पनि जित्न सकेका छैनन् । यो प्रतियोगिताबाट तीनवटा टोली यसै वर्ष पाकिस्तानमा आयोजना हुने एसीसी यु—१९ एसिया कपका लागि छनोट हुनेछन् ।छनोट प्रतियोगितामा पहिलो र दोस्रो हुने टोली एसीसी यु—१९ एसिया कपको समूह ‘ए’ मा पर्नेछन् । त्यो प्रतियोगिताको समूह ‘ए’ मा भारत र पाकिस्तान छन् । छनोट प्रतियोगितामा तेस्रो हुने टोली भने एसीसी यु—१९ एसिया कपको समूह ‘बी’ मा पर्नेछ । पाकिस्तानमा आयोजना हुने प्रतियोगिताको समूह ‘बी’ मा बंगलादेश, श्रीलंका र अफगानिस्तान रहेका छन् ।