काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले हरेकजसो मञ्चमा अर्थतन्त्र बाहिर हल्ला गरिएजस्तो खस्किँदो अवस्थामा नरहेको दाबी गर्दै आश्वस्त पार्ने प्रयास गर्छन् । उनको दाबी हुन्छ अर्थतन्त्र लयमा फर्किंदै छ । आत्तिनुपर्ने अबस्था छैन भनेर । अहिले अर्थमन्त्री महत मोरक्कोमा छन् । अक्टोबर ९ देखि १५ सम्म चल्ने विश्व बैंकको वार्षिक बैठकमा सहभागी हुन अर्थमन्त्री मोरक्को गएका हुन् ।
बैठकमा विश्व आर्थिक दृष्टिकोण, विश्वव्यापी वित्तीय स्थायित्व, गरिबी उन्मूलन, समावेशी आर्थिक वृद्धि र रोजगारी सिर्जनालगायत विश्वव्यापी चासोका विषयहरूमा छलफल चलिरहेको छ । तर गत बिहीबार काठमाडौंमा भएको एक कार्यक्रममा प्रधानमन्त्रीले अर्थतन्त्र खस्किँदो अवस्थामा रहेको सार्वजनिक रूपमा स्वीकार गरेका छन् । राष्ट्रिय आर्थिक बहस ‘सुधारका लागि सहकार्य’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले अहिले अर्थतन्त्र गम्भीर अवस्थामा रहेको स्वीकार गरेका हुन् ।
उनले अर्थतन्त्र सुधारको लागि बोल्ड डिसिजन लिन आवश्यक भएको र सघन शल्यक्रियाको आवश्यकता रहेको बताएका हुन् । अलिकति बोल्ड डिसिजन लिनेतिर अगाडि नबढ्ने हो भने झन् अप्ठ्यारो परिस्थितितिर जान सक्ने खतरा रहेको प्रधानमन्त्रीको भनाइ थियो । तर उनले नेपालको हालत पनि श्रीलंकाजस्तो हुन्छ भन्ने भ्रम फैलाएको जिकिर गरे । अर्थतन्त्रको मूल समस्या समाधान हुन नसकेको प्रधानमन्त्री प्रचण्डको स्वीकारोक्तिले नेपालको अर्थतन्त्र ओरालो लागेको स्पष्ट हुन्छ ।
प्रचण्डले आर्थिक क्षेत्रमा रिफर्म ल्याउन उच्चस्तरीय वैधानिक आयोग बनाउन समेत आफू सकारात्मक भएको र अर्थमन्त्री डा. प्रकाशशरण महत फर्केपछि यो संयन्त्र बनाउन तयार रहेको सार्बजनिक रूपमा बताएका छन् । निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उच्चस्तरीय वैधानिक आयोगको प्रस्ताव गरेका थिए ।
टालटुले तरिका र माध्यमबाट सुधार गर्न सक्ने अवस्था नरहेको प्रधानमन्त्रीको स्वीकारोक्तिले नेपाल गम्भीर आर्थिक संकट तर्फ जान लागेको संकेत गरेको छ । अर्थतन्त्रका समस्या समाधानका लागि प्रधानमन्त्री अध्यक्ष रहने गरी उच्चस्तरीय सुधार आयोग वा अन्य कुनै वैधानिक संयन्त्र गठन गर्नुपर्ने प्रस्ताव निजी क्षेत्रले गरेको थियो ।
सरकारी कार्यशैलीमा सुधार आवश्यक छ :अध्यक्ष ढकाल
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारी ढिलासुस्तीले गर्दा पनि लगानी नेपालमा आशा गरे जस्तो लगानी नभित्रिएको तर्क गरेका छन् ।
काठमाडौंमा आयोजित राष्ट्रिय आर्थिक बहस कार्यक्रममा उनले कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठेरो देखेका त छैनन् ? भन्ने प्रश्न उठाएका हुन् ।
‘नेपालमा सञ्चालित प्रायः सबै बहुराष्ट्रिय कम्पनी राम्रो मुनाफा कमाइरहँदा पनि नयाँ लगानी आइरहेको छैन । अमेरिकी सरकारले केही समयअघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सरकारी ढिलासुस्ती पनि लगानी नआउनुको एउटा कारण देखाएको छ । कतै हाम्रो कार्य प्रणालीभित्र पनि विदेशीले यस्तै अप्ठ्यारो देखेका त छैनन् ? सम्माननीय प्रधानमन्त्रीज्यू यदि त्यसो हो भने सुधार आवश्यक छ ।’
अर्थतन्त्रमा निराशा एउटा सूचक भएको बताएका उनले यस्ता सूचकहरू बढ्दै गए अर्थतन्त्र मन्दीमा जाने चेतावनी दिए ।
नेसनल ब्युरो अफ इकोनोमिक रिसर्चका अनुसार लामो समयसम्म आर्थिक गतिविधि सुस्त रहनु पनि आर्थिक मन्दी हो भन्दै उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू करिब डेढ वर्षदेखि सुस्ताएको अर्थतन्त्रमा कसरी मन्दी गहिरिँदै गयो ।’
प्रतिक्रिया