देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एनआरएनलाई चलायमान बनाउन म महासचिवको उम्मेदवार

देशान्तर


काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनको निर्वाचन १९ अक्टोबरमा हुदैं छ । मनोनयन दर्ताको क्रम सुरु भइसकेको छ भने आइतबारसम्मको समय तय गरिएको छ । यसबीचमा ५ जनाले अध्यक्षमा उम्मेदवारी घोषणा गरे पनि एक जनाले मात्रै उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी महासचिव पदमा एनआरएन अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराउदै छन् । उनै सुवेदीसंग एनआरएन चुनावको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश ।

११औं महाधिवेशनको संघारमा हुनुहुन्छ, दसौंलाई बिर्सिएर अघि बढ्ने हो ?
विगतका अन्य महाधिवेशनको कुरा गर्ने हो भने १०औं महाधिवेशन सुखद रहेन । विभिन्न कारणले गर्दा हामीले तीन—तीन जना अध्यक्ष बनाएर निष्कर्षमा पु¥याएर यहाँसम्म ल्यायौं । अहिलेको ११औं अधिवेशनमा जसरी पनि चुनाव गराउनुपर्छ भनेर लागेका छौं । मनोनयन दर्ताको काम भएको छ । अहिले अक्टोबर १९ तारिखमा हुन लागेको निर्वाचनबाट जोसुकै निर्वाचित भएर आए पनि संस्थाले निकास पाउँछ । यो चुनावी प्रक्रिया हो । तर पनि यो चुनाव सबैले जित्दैन र सबैले हार्दैन पनि । चुनाव हार्नेबित्तिकै एनआरएनए अभियानबाट हारेको पनि हुँदैन । अहिलेको अवस्थामा स्वच्छ चुनाव गरेर विजेता र उपविजेताको रूपमा अघि बढ्ने छौं । पक्कै पनि अबका दिनहरूमा संस्था सुध्रिएर जान्छ र हामीले सबैलाई समेटेर जान्छौं ।

तपाईं किन महासचिवको उम्मेदवार ?
म महासचिव हुँदै गर्दा संस्थालाई कसरी सुदृढ बनाएर लैजाने र सबैको अपनत्व हुने खालले यो संस्थालाई अगाडि बढाउने र अहिलेसम्म संस्थाभित्र रहेका विकृतिहरू हटाउनका लागि मेरो भूमिका रहन्छ । ती विकृतिहरूलाई सुधार गरेर भोलिको दिनमा सबैले स्वीकार गर्न सक्ने र सबैले अपनत्व लिन सक्ने खालको संस्था बनाएर लानुपर्छ । यो काम म महासचिवमा निर्वाचित भएपछि गर्नेछु । यो मेरो प्रतिबद्धता हो ।

अमेरिकाको एनसीसी अध्यक्षबाट एकै पटक आईसीसीको महासचिवको उम्मेदवार, अलि हतार भएन र ?
म काममा विश्वास गर्ने मान्छे हुँ । एनसीसी अमेरिकाको अध्यक्ष हुँदा मैले गरेका कामहरू प्रस्ट देखिएका छन् । मैले एनसीसीको अध्यक्ष हुँदा धेरै राम्रा कामहरू गरेको छु, त्यो इतिहासले देखाइसकेको छ । र यो महासचिवको पद पनि संस्थामा अहिले भएका केही कमीकमजोरीहरूलाई निस्तेज गर्ने हो र कमीकमजोरीहरू हटाउने हो भने म जस्तै, म नै हुनुपर्छ भन्ने छैन, योङ र एनरजेटिक तथा संस्थालाई चलायमान बनाउन सक्ने जो आउँदा पनि हुन्छ । एनसीसीको अध्यक्षपछि एकै पटक महासचिव हुनुहुँदैन भन्ने कुरा पनि होइन । महासचिव नभए अरू कुन पदमा चुनाव लड्ने भन्ने कुरा पनि आउला । त्यसमा मैले रोजेका र देखेका पदहरूमध्ये एउटा एक्टिभ्ली काम गर्न सकिने पद भएकाले मैले महासचिव पदमा चुनाव लड्ने तयारी गरेको हुँ । संस्थालाई रूपान्तरण गर्न पनि हो । यो संस्था जसरी चल्नुपर्ने थियो त्योअनुसार चल्नै सकेको छैन । यसलाई समयअनुकूल बनाउन पनि मेरो महासचिवको उम्मेदवारी हो ।

महासचिव हुनुभयो भने तपाईंले गर्ने काम के हुन् त ?
मैले महासचिव भएपछि गर्ने काम भनेको यो संस्था अत्यधिक चुनावमुखी भएको छ, यो संस्थामा धेरै राजनीति भयो भनेर हामीलाई आरोप पनि लाग्ने गरेको छ । यो भनेको संस्था अत्यधिक चुनावमुखी भएर नै हो । हामीले एनआरएनएको चुनावका लागि ६ महिनाभन्दा बढी समय खर्च गरिरहेका छौं । २ वर्षको कार्यकालमा ६ महिना चुनावमा खर्च गर्ने हो भने काम गर्न पनि भ्याइँदैन । जसले गर्दा हामीले गरेको कामहरू पनि ओझेलमा परेका छन् । अब म महासचिव भए भने एनसीसी र आईसीसीको चुनाव एकै पटक हुन्छ । एउटै ब्यालेटबाट एकै पटक गरेपछि पटकपटक चुनाव गरेर ६ महिनाभन्दा बढी समय खर्च गर्नु पर्दैन । एनआरएन संसारभरका ८६ देशमा एनसीसी क्रियाशील छ । म पनि भर्खरै अमेरिका एनसीसीको निर्वतमान अध्यक्ष हुँ । मैले आफ्नो अमेरिकाको कार्यकालमा फिल गरेको कुरा के छ भने एनसीसी र आईसीसीको बीचमा कोर्डिनेसन नै छैन । आईसीसीले एनसीसीमा समन्वयकारी भूमिका निर्वाह गर्न छाडेर कहिलेकाहीँ हस्तक्षेपकारी भूमिका खेल्दै आएको छ । अब एनसीसीहरूलाई स्वायत्त बनाउनुपर्छ र सम्पन्न बनाउनुपर्छ । म महासचिव भएमा एनसीसीका अध्यक्षहरूलाई आईसीसीको बैठकमा उहाँहरूलाई आमन्त्रित आईसीसी सदस्य बनाएर उहाँहरूका कुरा सुनिने छ र उहाँहरूको एजेन्डालाई पनि अगाडि बढाइनेछ । त्यो गरियो भने मात्रै एनसीसी र आईसीसीकाबीचको खाडल पुरिन्छ । जसले गर्दा काम गर्न पनि सजिलो हुन्छ । म महासचिव भएमा एनआरएनको कार्यालयलाई पनि चुस्त दुरुस्त व्यवस्थापन गर्छु ।

समय दिन सक्नुुहुन्छ त ?
म समय दिनकै लागि महासचिव पदमा उम्मेदवार बनेको हुँ । म महासचिव हुँदा समय दिन सक्छु भनेर नै यो पद रोजेको हुँ । नत्र त अरू पदमा बसे भइहाल्थ्यो नि । व्यावसायिक रूपबाट पनि मैले आफूलाई धेरै समय निकालिसकेको छु । नेपालमै बसेर काम गर्नुपर्ला भनेर नै यहाँ नेपालमा पनि व्यवसाय सुरु गरेको छु । त्यसले गर्दा मलाई समयको कुनै समस्या छैन । अहिले कार्यालयमा जम्बो कर्मचारीको टिम छ । यसलाई चुस्त, दुरुस्त र सानो बनाउनुपर्छ । यस्तो गर्दा बच्न खर्चले हाम्रा सदस्यहरूलाई केही न केही फाइदा पु¥याउनु पर्छ । मध्यपूर्वको समस्या छ, सामाजिक सुरक्षा कोषको समस्या छ, गैरआवासीय नेपाली नागरिकताको कुरा छ, अब हामी हाम्रो नागरिकताको निरन्तरताको विषयमा जानु छ । युवा र महिलाका कुरा छन् । अर्को कुरा त संसारमा बाहिर गएर सिकेका ज्ञान सीप लिएर नेपाल फर्किएका ‘रिटर्नी’हरू जति छन्, उनीहरूको लगत राख्नुपर्छ । नेपाल सरकारसँग यो विषयमा हामीले लबिङ गर्छौं । अहिलेसम्म को को र कति संख्यामा नेपाल आए भन्ने कुराको रेकर्ड हुनुपर्छ । जानेबेला को कहाँ गए भन्ने रेकर्ड हुने अनि फर्किएपछि उनीहरूको अवस्था के हो भन्ने कुराको पनि लेखाजोखा गरेर अघि बढ्दा सरकारलाई नै राम्रो हुन्छ । यसले त देशको भलाई नै गर्छ ।

एनआरएनको २० वर्षलाई मूल्यांकन गर्ने हो भने, यहाँ व्यक्ति केन्द्रित मात्रै भएनौं र ?
यो २० वर्षमा एनआरएनबाट कामहरू भएका छन् । तर हाम्रो एक्सपेक्टेसन अलि बढी भएर हामीले सोंचेको जस्तो नभएको होला । एक्सपेक्टेसन हाई हुने अनि संस्थाका विभिन्न कारण र रिसोर्सेजहरूले गर्दा लिमिटेसन कम हुन्छ । तर भएको धेरै छ । तर अझैं हामीले गर्न भने बाँकी नै छ । संस्थाले गर्दै नगरेको भन्ने हो भने हामीलाई अन्याय हुन्छ । हामीले दुई वटा कुरामा ध्यान दिनुपर्छ । हामी बसेको सम्बन्धित देशहरूमा नेपाली दाजुभाइको हकहितको लागि कुरा उठाउनुपर्छ र हाम्रा हकहितका कुरा नेपाल सरकारसँग उठाउनुपर्छ । दुई वटै लेभलमा काम गर्नुपर्ने भएको हुनाले पनि धेरै देशहरूमा यसैगरी काम गरेको छ । अब भोलिका दिनमा पनि हामीले धेरै काम गर्नुपर्छ ।

एनआरएनको चुनावमा प्यानल बनाउने कुराको त विधानले परिकल्पना गर्दैन, तर तपाईंहरू प्यानलको रूपमा चुनावी अभियानमा हुनुहुन्छ होइन त ?
हामीले प्यानल बनाएका छैनौं । जस्तो मलाई के गर्ने मन छ, मैले के गर्दा हुन्छ भन्ने कुरा मलाई लागेपछि, कसैले मेरो भावनासँग जोडिएर म तपाईंसँग जोडिएर सहकार्य गर्छु भन्दा नआइज नगर भन्न मिल्दैन । अध्यक्षको सबालमा, म जोसँग बसेर भोलि दुई वर्षसम्म काम गर्न सक्छु भन्ने लाग्छ, मैले उसैसँग भावनात्मक सम्बन्ध राख्ने हो । यसलाई प्यानल भयो भन्नुभन्दा पनि एक किसिमको भावना मिल्ने कुरा मिल्ने र काम गर्न सहज हुने साथीहरूको बीचमा सहकार्य हो यो । हामीलाई विधानले पनि प्यानल बनाएर यो संस्था चलाउ भनेको छैन त्यो लेभलमा हामी जाँदा पनि जाँदैनौं ।

तपाईंको मुख्य प्रतिस्पर्धा कोसँग ?
अहिलेसम्म मैले सुनेको एक जना हुनुहुन्छ । मैले सुनेअनुसार महासचिवमा रिपिट गर्दै हुनुहुन्छ रे, तर धेरै ठाउँमा उहाँलाई महासचिवको पदमा रिपिट गर्नु हुँदैन नयाँलाई मौका दिनुपर्छ । काम गर्ने हो भने आफ्नै कार्यकालमा गर्नुपर्ने थियो, आफूले त्यो कार्यकालमा के के गरियो त र अब फेरि किन त्यही पदमा किन भन्ने प्रश्नले उहाँलाई सताएको छ ।

विदेशमा बस्ने नेपालीहरूको संस्था, तर तौरतरिका नेपाली नै भयो भन्छन् हो ?
यस्तो पनि होइन । अलिअलि त अब हामी नेपाली हौं यहाँको संस्कार झल्किहाल्छ । मैले तपाईंले गरेको प्रश्नलाई असत्य त भन्न सक्दैन । हामीले जति बाहिर सुनेका छौं, त्यति छैन ।

यहाँ समस्या कहाँनेर छ, लगानीका कुरा गर्नुहुन्छ, प्रतिफल त भेटिदैन त ?
एनआरएनबाट लगानी भएकै छैन भन्न मिल्दैन । हामीले धेरै ठाउँमा व्यक्तिगत र संस्थागत रूपबाट लगानी गरेका छौं । अझैं लागनी बढी हुनुपथ्र्यो भन्ने कुरामा म पनि सहमत छु । एनआरएनले अझ धेरै लगानी गर्नुपर्छ भन्ने कुरा नेपाल सरकारले पनि भन्दै आएको विषय छ । सरकारको तर्फबाट पनि लगानी मैत्री वातावरण हुनुपर्छ । गैरआवासीय नेपालीलाई अरू विदेशीलाई भन्दा फरक तरिकाले लगानी गर्ने वातावरण बनाइदिनुपर्छ । ‘फरेन डाइरेक्ट इन्भेस्टमेन्ट पोलिसी फिटा’ । यो फिटाबाट एनआरएनलाई बाहिर ल्याउनुपर्छ । हामी त यही देशको नागरिक हो । विदेशमा विभिन्न कारणले गए पनि नेपालमा फर्किएर आउँदै गर्दा नेपालीहरूले लगानी गर्दा जे जति सुविधाहरू पाउँछन् त्यस्तै खालको सुविधाहरू हामी गैर आवासीय नेपालीहरूले पाउनुपर्छ भन्ने हाम्रो माग हो । सरकारले त्यो काम ग¥यो भने ‘वान अफ द विगेस्ट सोर्स’ एनआरएनएको हुन्छ । त्यतातर्फ सरकारले ध्यान दिनुपर्छ र हामीले पनि यो कुरा बुझाउनका लागि पहल गर्छौं ।

अन्त्यमा डेलिगेट्सहरूलाई केही अपिल छ ?
गैरआवासीय नेपाली दाजुभाइ र दिदीबहिनी डेलिगेट्सहरूलाई यो भन्न चाहन्छु कि, तपाईंहरूले मलाई मतदान गर्दै गर्दा हाम्रो मान्छे हो भनेर मतदान नगर्नुस् । तपाईंले मेरो प्रतिस्पर्धी जो हुनुहुन्छ उहाँले विगतमा कस्तो काम गर्नुभयो र मैले कस्तो काम गरे, म कति काम गर्ने इच्छाशक्ति भएको मान्छे हो र मेरो प्रतिस्पर्धी कति इच्छाशक्ति भएको मान्छे हो त्यो कुरा हेर्नुस्, त्यो कुरा हेर्दा मेरोभन्दा मेरो प्रतिस्पर्धीलाई राम्रो बढी इच्छाशक्ति भएको संस्थालाई बढी चलायमान बनाएर लान सक्ने र संस्थालाई राम्रोसँग हाँकेर लान सक्ने देख्नुहुन्छ भने उहाँलाई मतदान गर्नुस् होइन त्योभन्दा मेरो बायोडाटा हेर्दा म उपयुक्त लाग्छु भने मलाई मतदान गर्नुहोस् ।