देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमाले सुदूरपश्चिम प्रदेश: कृष्णप्रसाद जैसीको नेतृत्वमा सर्वसम्मत कमिटी चयन

देशान्तर

धनगढी । नेकपा एमालेले अन्ततः सर्वसम्मत रूपमा सुदूरपश्चिम प्रदेश कमिटी चयन गरेको छ ।

एमालेका स्थायी कमिटी सदस्य, केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मा, केन्द्रीय सचिव तथा कर्णाली प्रदेश इन्चार्ज लेखराज भट्टलगायतका नेताको उपस्थितिमा मङ्गलवार रातीसम्म भएको छलफल पछि कृष्ण प्रसाद जैसीको नेतृत्वमा सबै पदाधिकारी सर्वसम्मत चयन गरिएको हो । 

एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाका अनुसार सहमति मै नेतृत्व चयन हुँदा पार्टी पङ्क्तिमा मतभेद नरहने र आगामी दिनमा सुदूरपश्चिम प्रदेशलाई बलियो बनाउन सहयोग पुग्ने छ ।  ‘सर्वसम्मत नेतृत्व चयनले देशभर राम्रो सन्देश जाने छ,’ थापाले भने, ‘कार्यकर्तामा मनमुटाब पनि हुँदैन, त्यसैले हाम्रो जोड बल सहमतिमै नेतृत्व चयन हुनु पर्छ भन्नेमा हो ।’

नेकपा एमालेका प्रदेश सचिव धर्मराज पाठकका अनुसार उपाध्यक्षमा बाजुराका काली बहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द र उप सचिव खुला पुरुष तर्फ नेपालु चौधरी, महिला उप सचिवमा कलशा महरा सर्वसम्मत चयन भएका छन् । दुवै जनाले मङ्गलवार बिहान भने उम्मेदवारी दिएका थिएनन् । 

एमालेले प्रदेश कमिटी सदस्यहरू पनि सर्वसम्मत चयन गरेको जनाइएको छ । 

सोमबार सहमतिको प्रयास असफल भएको भन्दै प्रदेश कमिटी चयनका लागि मङ्गलवार अध्यक्ष सहित सबै पदाधिकारीमा उम्मेदवारी परेको थियो । जसअनुसार अध्यक्षमा कृष्णप्रसाद जैसीसहित वचन बहादुर सिंह, कमल तिमिल्सेना र भरत साउँदले उम्मेदवारी दिएका थिए ।

त्यसैगरी उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको थियो । एमाले प्रदेश कमिटीको उपाध्यक्षका लागि  हरिसिंह साउद, बलदेव रेग्मी, रणबहादुर महरा, कालीबहादुर शाही र हजारीसिंह साउद तथा गजेन्द्रबहादुर शाहीले उम्मेदवारी दिएका थिए ।

यस्तै सचिवमा ४ जनाको उम्मेदवारी परेको थियो उम्मेदवारी दिनेमा रणबहादुर चन्द, राजेश कुमार खाती, रतन रतनराज रेग्मी र जीवन कुमार बम रहेका थिए ।

यस्तै उप सचिवमा ९ जनाले उम्मेदवारी दिएका थिए । उम्मेदवारी दिनेमा महिला तर्फ भागीरथी विष्ट, कन्दकला कुमारी राना र अर्चना गहतराज रहेका थिए भने, उपसचिव खुल्ला (पुरुष)तर्फ रामदत्त जोशी, अशोक कुमार चन्द, नरबहादुर बिक, सुरेन्द्र बहादुर पाल, हरदेव जोशी र पल्लभराज भट्टले उम्मेदवारी दर्ता गराएका थिए । 

आइतबारदेखि सुरु भएको प्रथम अधिवेशनमा नेताहरूले नेतृत्व चयनका लागि सहमतिको प्रयास गरेका थिए । तर, सहमति जुट्ने अवस्था नदेखिए पछि स्वस्थ प्रतिस्पर्धा गर्न भन्दै धनगढीमा रहेका महासचिव शङ्कर पोखरेल सोमबार दाङ गएका थिए तर मङ्गलवार राती सहमति हुन पुग्यो ।

अध्यक्ष केपी शर्मा ओली पोखरेललाई सुदूरपश्चिम प्रदेश अधिवेशनको जिम्मा दिएर आइतबार नै काठमाडौँ फर्किएका थिए । महासचिव पोखरेलले बन्द सत्रलाई थाती राखेर सोमबार दिउँसोसम्म सहमतिको प्रयास गरेका थिए तर सफल नभए पछि केन्द्रीय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज छविलाल विश्वकर्मालाई जिम्मा दिएर उनी दाङ फर्किएका हुन् ।