काठमाडौं । आगामी अक्टोवर १७ देखि २० तारिखसम्म काठमाडौँमा हुने गैरआवासीय नेपाली संघ(एनआरएनए)को ११ औँ महाधिवेशनमा उपाध्यक्ष पदमा अष्ट्रेलियाबाट उम्मेदवारी दिएका गणेश केसीले चुनावी अभियान तिब्र पारेका छन् । केसी अहिले चुनावी अभियानस्वरुप विश्व दौडाहामा रहेका छन् । केसीले हङकङबाट चुनावी अभियान यात्रा सुरु गरेका थिए । हङकङपछी केसीले कोरिया, नेदरल्याण्ड्स, बेल्जियमको चुनाबी यात्रा सम्पन्न गरिसकेका छन् । केसी अहिले डेनमार्क हुदै पोर्चुगल र दुबईको यात्रामा छन् ।
एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष तथा हाल आइसिसीका उपमहासचिव केसी एनआरएनए अभियानमा सन् २००५ देखि निरन्तर सक्रिय छन् ।
यसैगरी आगामी कार्यकालका लागि केन्द्रिय सचिव पदमा डा. ज्ञानेन्द्र रेग्मीले आफ्नो उदेवारी पेस गरेका छन् । उनले उमेदवारी संगै चुनावी प्रतिबद्धता पनि सार्वजानिक गरेका छन् । उनले संस्थालाई गर्न सक्ने योगदान बारे विभिन्न ९ प्रतिबद्धता सार्वजानिक गरेका हुन् ।
सिभिल इन्जिनियरिङ्गमा विद्यावारिधी गरेका रेग्मी एनआरएनए अष्ट्रेलियाका पूर्व महासचिव हुन । एनआरएनएमा रेग्मीको एक दशकभन्दा लामो अनुभव छ । रेग्मी हाल अस्ट्रेलियन राज्य सरकारको जलस्रोत विभागमा सिनियर इन्जिनियरको रुपमा कार्यरत छन् । जलस्रोत विज्ञ समेत रहेका डा. रेग्मी सचिव पदका बलिया प्रतिस्पर्धी हुन् । रेग्मी प्रवासी नेपाली समा जमा लोकप्रिय छन् ।
यसैगरी एनआरएनएको ओसियाना क्षेत्रीय संयोजकको लागि अष्ट्रेलियाबाट अरुण कुमार ठाकुरले उम्मेद्वारी घोषणा गरेका छन् । ठाकुरले गैरआवासीय नेपालीको सहयोगमा नेपालमा पर्यटन प्रवर्द्धन, सांस्कृतिक प्रवर्द्धनको लागि विशेष पहल गर्ने, फीजी र भानुआतुुमा एनआरएनएको शाखा विस्तारको लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन् । एनआरएनए अष्ट्रेलियाको विभिन्न अभियानमा निरन्तर सक्रिय ठाकुर एनआरएनए अष्ट्रेलियाका कार्य समिति सदस्य, एनआरएनए ग्लोबलका अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्य समेत भैसकेका छन् ।
प्रतिक्रिया