काठमाडौं । इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीले छिटोभन्दा छिटो उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । उनीहरुले बंकरबाट एक भिडियो सन्देशमार्फत् यस्तो आग्रह गरेका हुन् ।
भिडियोमा टिम लिडरका रुपमा गएका दाङका विद्यार्थी विपिन सुवेदीले बंकरमा पाँच जना रहेको र मृत्यु भएका १० जनाको हारगुहार सम्झिरहेका बताएका छन् । तीनदिन देखी बंकरमा बसेको भन्दै उनले दूतावासले केही गर्छ कि भनेर पर्खिएर बसेक उल्लेख गरेका छन् ।
बंकरमा पनि मिसाइल खस्छ कि भन्ने अवस्था रहेको र आतंकबादीहरुले क्रुरतापूर्वक मार्न सक्ने त्रासमा रहेकोले जतिसक्यो छिटो उद्धार गर्न याचना गरेका छन् । सुबेदी प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत परियोजना कार्यान्वयन इकाई दाङमा आबद्ध छन् ।
सरकारको ‘अर्न एन्ड लर्न’ कार्यक्रम अन्तर्गत २६५ नेपाली विद्यार्थी इजरायल गएका छन् । उनीहरूमध्ये कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट ११९ जना, त्रिभुवन विश्वविद्यालयबाट ९७ जना र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना विद्यार्थी गएका हुन् । आक्रमणमा परि ज्यान गुमाउने १० जना मध्य ७ जना सुदूरपश्चिमका हुन् । बाँकि ३ जना सल्यान ,सुनसरी र धनुषाका रहेका छन् ।
इजरायलमा रहेका अर्का नेपाली विद्यार्थीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पत्र लेख्दै उद्दारको पहल गरिदिन आग्रह गरेका छन् । कास्की ठेगाना भएका विद्यार्थी सुरज भण्डारीले प्रधानमन्त्रीलाई लेखेको पत्रमा आत्मबल घटेको र अत्यन्तै त्रासमा रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया