काठमाडौं । नेकपा विभाजन गरी आफू विरोधी सबै तहका नेता कार्यकर्तालाई निस्कासन गरी एकछत्र राज गर्ने मनसुवाका साथ अगाडि बढिरहेका नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई प्रदेश अधिवेशनहरूमा भएको विद्रोहले ठूलो धक्का लागेको छ । अर्को कार्यकाल पनि सर्वसम्मत अध्यक्ष बन्ने सपनादेखि रहेका उनको यो योजनामा तुषारापात हुने निश्चितजस्तै वातावरण बनेको छ । प्रदेश अधिवेशनबाट सुरु भएको विद्रोहको यो ‘भुसको आगो’ले आगामी महाधिवेशन उनलाई ‘फलामको च्युरा’ सावित हुने सम्भावना बढ्दै गएको छ । महाधिवेशनको निर्णयलाई केन्द्रीय समितिबाट उल्टाएर ७० वर्ष उमेर हद हटाई अवैधानिक निर्णय गराएका उनी अबको नेतृत्वमा रहने वा नरहने जोखिम बढेको स्पष्ट भएको छ ।
संघीय संरचनामा गएपछि नेकपा एमालेले पहिलो प्रदेश अधिवेशन गरिरहेको छ । जहाँजहाँ गएर ओलीले प्रदेश अधिवेशनको उद्घाटन गर्छन् अनि भन्न नछुटाउने विषय नै बनेको छ ‘सर्वसम्मत नेतृत्व चयन गर्नुस् ।’ विगतमा केपी ओलीले भनेको कुरा दास मनोवृत्ति भएका कार्यकर्ताहरूले सहजै स्वीकार गर्थे र जे भन्यो त्यही निर्णय र पार्टीको विधानको रूपमा कार्यान्वयन हुन्थ्यो । तर, अहिले केपी ओलीको आदेशको पनि क्रमशः विद्रोह हुन थालेको छ । अहिलेसम्म भएका प्रदेश अधिवेशनबाट यसको पुष्टि पनि हुन्छ ।
नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा राधाकृष्ण कँडेल विजयी भए । अध्यक्ष केपी ओली र शंकर पोख्रेल निकट हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका थिए । प्रथम अधिवेशनको उद्घाटन सत्रमा प्यानल नबनाई आफूले चाहेको जस्तो सर्वसम्मत नेतृत्व बनाउन चाहेका ओलीको चाहनालाई लुम्बिनी एमालेले टेरेन् । बागमती प्रदेशमा प्यानल बनाएर चुनाव लडे प्यानलको उम्मेदवारी नै खारेज गर्ने ओलीको चेतावनीका बाबजुद बागमतीमा पनि ओलीको फरमानले काम गरेन । एमाले बागमती अध्यक्षमा कैलाश ढुंगेल विजयी भए । यद्यपि ढुंगेल ओली र महासचिव पोखरेलकै उम्मेदवार थिए । गण्डकीमा पनि ओली आदेशको विद्रोह भयो । गण्डकी प्रदेशको अध्यक्षसहित पदाधिकारीमा पृथ्वीसुब्बा गुरुङ निकट नवराज शर्माको प्यानल विजयी भयो । पोख्रेलको समर्थन प्राप्त उम्मेदवार पराजित भए । कोसी प्रदेश अधिवेशनले प्रदेश अध्यक्षमा मोरङका घनश्याम खतिवडालाई निर्वाचित गर्यो । खतिवडाले ५१२ मत प्राप्त गरी मोरङका विनोद ढकाललाई पराजित गरेका थिए । पराजित ढकालले गुटगत राजनीतिका कारण आफूले हार ब्यहोरेको सार्वजनिक गरेका थिए ।
कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी अत्यधिक मतले विजयी भए । शाहका प्रतिस्पर्धी मीनबहादुर शाहीले १६४ मत पाएका थिए । ओली र पोख्रेलको समर्थन पाएका शाहीको हारले गुलावजंगले एमाले संस्थापनलाई चुनौती थपे । आदेशबाट हुँदैन मतबाट मन जित्ने हो भन्ने साबित गरिदिए ।
मधेस प्रदेशको प्रथम अधिवेशन जनकपुरधाममा असोज २४ र २५ मा हुँदै छ । त्यस्तै सुदूरपश्चिम प्रदेशको अधिवेशन असोज २१ र २२ गते हुदैछ । अध्यक्षमा वचनबहादुर सिंहले उम्मेदवारी घोषणा गरेका छन् । एमाले प्रदेश अध्यक्षमा अछामका कृष्णप्रसाद जैसी र अछामकै अहिलेका प्रदेश कमिटी उपाध्यक्ष कमल तिमिल्सिनाले अध्यक्षमा आकांक्षा राखेका छन् । सबैजसो प्रदेशमा पुगेर नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिए पनि ओली असफल भएका छन् । पछिल्लो समय अध्यक्ष ओलीको निर्देशन पार्टीका नेतामात्रै नभई सो पार्टीका सर्वसाधारण कार्यकर्ताले समेत अस्वीकार गर्दै आएका छन् । लुम्बिनीबाट सुरु भएको गुटगत प्रभाव सबै प्रदेशमा परेको छ । उपत्यका प्रदेशमा भने ओलीले दिएको दवावलाई तल्लो तहका कार्यकर्ताहरुले मन अमिलो पार्दै आदेश पालन गेरका छन् । एमाले उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशनबाट अध्यक्षमा प्रेम पराजुली सर्वसम्मत चयन भएका छन्। अध्यक्ष पदमा चन्द्र रिजालको उम्मेदवारी परे पनि पछि उनले फिर्ता लिएपछि पराजुली सर्वसम्मत चयन भएका हुन्।
झन्डै दस वर्ष नेकपा एमालेको नेतृत्व गरेका अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा यसपटक असफलता हात परेको छ । यो एक प्रकारको ओली राजप्रतिको विद्रोहका रूपमा जानकारहरूले अथ्र्याएका छन् । एकलौटी पार्टी चलाउँदै आएका ओलीलाई प्रदेश अधिवेशनले झट्का दिएको विश्लेषण हुन थालेको छ ।
प्रतिक्रिया