देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

शेयर बजारलाई प्रतिस्पर्धी र स्वस्थकर बनाउन जरुरी अर्थमन्त्री डा महत

देशान्तर


काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले पुँजीबजारलाई थप स्वस्थ बनाउन आवश्यक रहेको बताएका छन् । ‘विश्व लगानीकर्ता सप्ताह’ को सोमबार उद्घाटन गर्दै उनले लगानीकर्तालाई पुँजीबजारसम्बन्धी शिक्षा बढाउने र नेपाल राष्ट्र बैंक तथा नेपाल धितोपत्र बोर्डले नियामकीय भूमिका बढाउनुपर्नेमा जोड दिए । उनले आम लगानीकर्ताको हित हुनेगरी नियामकीय भूमिका निर्वाह गर्न र पुँजी बजारबारे जानकारी तथा साक्षरता बढाउन पनि नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्जलगायत निकायलाई निर्देशन दिए । नयाँ धितोपत्र दलाल लाइसेन्स दिएपछि पुँजीबजार प्रतिस्पर्धी बन्दै गएको र एकाधिकारको अवस्था अन्त्य भएको उनको भनाइ छ । यसलाई थप प्रतिस्पर्धी बनाउन आवश्यक रहेको पनि अर्थमन्त्री महतले बताए ।

शेयर बजारबारे निकै कम व्यक्तिलाई मात्र जानकारी रहेको र यस क्षेत्रमा लगानी गरेर कसरी प्रतिफल लिने भन्नेबारे धेरैलाई जानकारी नभएकाले वित्तीय तथा पुँजी बजारसम्बन्धी साक्षरता बढाउन आवश्यक रहेको उनको भनाइ छ । शेयर बजारको उतारचढावका बेला निश्चित व्यक्तिले नाफा लिने र सर्वसाधारणले गुमाउने भएकाले पुँजीबजारको कारोबारबारे सर्वसाधारणलाई बढी जानकारी दिनुपर्ने आवश्यकता उनले औँल्याउनुभयो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले नेपालमा वित्तीय साक्षारता निकै कम रहेको बताए । धितोपत्र बोर्डले आजदेखि लगानीकर्ता शिक्षा र गुनासो सुनुवाइका लागि आर्टिफिसियल इन्टेलिजेन्स मा आधारित च्याटबट सञ्चालनमा ल्याएको छ । लगानी सप्ताहका रुपमा एक सातासम्म विभिन्न कार्यक्रम गरी मनाउने योजना रहेको छ ।