काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसका सबै मन्त्रीहरु फिर्ता बोलाउन प्रस्ताव गरेका छन् । कांग्रेस रुपान्तरण अभियान बागमतीको विचार गोष्ठीलाई सम्बोधन गर्दै अहिलेको दुई वर्ष सरकार बाहिरै बसेर समर्थन गर्न प्रस्ताव गरेका हुन् । कार्यक्रममा थापाले प्रदेशको कानून बनाउन केन्द्रित हुनुपर्ने बताए । उनले प्रदेशलाई अधिकार नदिएर पंगु बनाइएको टिप्पणी गरे ।उनले आगामी निर्वाचन आउन चार वर्ष बाँकी रहेकाले मज्जाले काम गर्नुपर्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले संविधान संशोधन आवश्यक भएको बताए । उनले भेटी चढाएका भरमा नियुक्ति हुने प्रथा नहटाएसम्म कांग्रेस नबन्ने पनि बताए । उनले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको बताए । अर्का नेता दिलेन्द्र बडूले गठबन्धनको कारणले सरकारमा हुँदा काम गर्न अफ्ठ्यारो परेको अनुभव सुनाए । उनले अहिले नयाँ दलको उदयसँगै जनताको निगरानी पनि बढेको भएकाले अहिले असफल हुने छुट नभएकोे उल्लेख गरे ।
अर्का नेता प्रदीप पौडेलले पार्टीभित्र प्राइमरी इलेक्सन, अन्तरपार्टी प्राइमरी इलेक्सनको व्यवस्था गर्नुपर्ने धारणा राखे । आम कार्यकर्ताले चुनेको व्यक्तिले मात्रै पार्टीको टिकट पाउने व्यवस्था गर्नुपर्ने उनको भनाई थियो ।
प्रतिक्रिया