देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

उत्तर कोरियाद्वारा संविधानमा आफुलाई आणविक शक्तिको दावी

देशान्तर


काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ उनले संयुक्त राज्य अमेरिकाबाट उत्पन्न खतराको सामना गर्न थप आधुनिक आणविक अस्त्रको माग गर्दै आफ्नो संविधानमा आणविक शक्तिको हैसियतलाई समावेश गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् । आणविक हतियार कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद उत्तर कोरियाले संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया र उसका सहयोगीहरूको चेतावनीलाई बेवास्ता गर्दै यस वर्ष उल्लेख्य सङ्ख्यामा क्षेप्यास्त्र परीक्षण गरेको छ ।

प्योङयाङलाई आफ्नो आणविक शस्त्रागार त्याग्न राजी गराउने कूटनीतिक प्रयास असफल भयो र गत वर्ष किमले उत्तर कोरियालाई ‘अपरिवर्तनीय’ आणविक हतियार सम्पन्न राष्ट्र घोषणा गरेपछि संवैधानिक परिवर्तन आएको थियो । उत्तर कोरियाली नेता किमले स्टेट पिपुल्स एसेम्बलीको बैठकमा भने, “उत्तर कोरियाको ‘आणविक शक्ति निर्माण नीतिलाई राज्यको आधारभूत कानूनको रूपमा स्थायी गरिएको छ, जसलाई कसैले पनि उल्लङ्घन गर्न अनुमति छैन’।”
उत्तर कोरियालाई संयुक्त राज्य अमेरिका र उसका सहयोगीहरूको अस्तित्वको खतराको सामना गर्न आणविक हतियारको आवश्यकता रहेको उनले बताए ।

किमले वासिङ्टन, सियोल र टोकियोबीच हालै बढाइएको सुरक्षा सहयोगलाई ‘सबैभन्दा खराब वास्तविक खतरा’ को संज्ञा दिए । कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनएं)का अनुसार किमले आणविक हतियारको उत्पादनलाई तीव्र गतिमा बढाउने र आणविक आक्रमणका साधनलाई विविधीकरण गर्ने कामलाई अगाडि बढाउनुपर्नेमा पनि जोड दिएका छन् । तर, छिमेकी मुलुक जापानले भने उत्तर कोरियाको आणविक हतियार कार्यक्रम ‘पूर्णतया अस्वीकार्य’ भएको बताएको छ ।उत्तर कोरियाको आणविक हैसियत संविधानमा उल्लेख भएसँगै उत्तर कोरियाको नेतृत्वलाई आणविक हतियार त्याग्न राजी गराउने सम्भावना क्षीण हुँदै गएको विज्ञहरूले बताएका छन् । यसले उत्तर कोरियाको आणविक निःशस्त्रीकरणको सम्भावनालाई अझ टाढा धकेल्छ ।

उत्तर कोरियाले यस वर्ष अन्तरमहादेशीय ब्यालिस्टिक क्षेप्यास्त्र परीक्षण गरेको र यसलाई उत्तर कोरियाली सेनाले ‘रणनीतिक आणविक कार्यक्रम’को रूपमा व्यख्या गरेको छ ।