काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राज्य व्यवस्था समितिसामू असन्तुष्टि जनाएका छन् ।
अख्तियार दुरुपयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकबारे छलफल गर्न समितिको बैठक आइतबार बिहान बोलाइएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले प्रस्तुत गरेको विधेयकमाथिको छलफलमा आफू असम्बन्धित भए पनि समितिले आउनै पर्ने भनेकोमा उनले असन्तुष्टि जनाए का हुन ।
उनले भने, ‘मन्त्री भएका कारण उठ, आइज, तँ कहाँ छन् भन्ने हुन्छ र ’ ? समितिको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ लाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफल गर्ने एजेन्डा रहे पनि विषयान्तर भएको थियो । बैठकको सुरुवातमै सभापतिसँग अनुमति मागेर एमाले सांसद रघुजी पन्तले सर्लाहीमा हिन्दु–मुस्लिमबीच धार्मिक दंगा गराउन खोजिएको, सङ्खुवासभामा अरुण जलविद्युत आयोजनामा स्थानीयले अवरोध गरेर काम गर्न नदिए पनि भारतीय कम्पनीले नेपालसँग अर्ब बढी क्षतिपूर्ति माग्न लागेको विषय उठाउँदै बैठकमा अनिवार्य रूपमा गृहमन्त्रीलाई बोलाउन माग गरेका थिए ।
यस्तै सांसद राजेन्द्रकुमार राई र रवि लामिछानेले पनि अघिल्लो पटकको बैठकमा गृहमन्त्री लगायत सुरक्षा प्रमुखलाई छलफलमा बोलाएको तर आफूहरू सहभागी हुन नसकेको बताएका थिए । सांसद राईले सभापति खतिवडाले बैठक व्यवस्थित गर्न नसकेको आरोप लगाउँदै आफू बाहिर भएका बेला गृहमन्त्रीलाई छलफलका लागि बोलाएको बताएका थिए । त्यसपछि समिति सभापति खतिवडाले बैठक चलिरहेका बेला फोन गरेर गृहमन्त्रीलाई बैठकमा बोलाएका थिए । मन्त्रालयमा गर्दागर्दैको काम छोडेर समितिमा आउनुपरेपछि मन्त्री श्रेष्ठले आक्रोश पोखेका थिए ।
बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका नेताहरुमाथि गहिरो अनुसन्धान नभएको गृहमन्त्री श्रेष्ठ सामु राखेका थिए । सभापति लामिछानेले सुन तस्करी प्रकरणमा सत्तारुढ दलका मानिसहरुमाथि गहिरो अनुसन्धान नभएको र अनुसन्धान हेर्दा भद्दा मजाक जस्तो देखिएको बताए । उनले सरकारले गर्ने अनुसन्धान ‘बम’ होला भन्ने अपेक्षा आफूहरुले गरेको भएपनि सलाईको काँटीजति पनि नपड्किएको टिप्पणी गर्दै उनले शंकाको घेरामा रहेका व्यक्तिहरु मोबाइल फम्र्याट गरेर प्रहरीकोमा पुगेको भन्दै उनले प्रहरी अनुसन्धानमा राजनीतिक हस्तक्षेप भएको हो कि भनि आशंका व्यक्त गरे ।
सभापति लामिछानेले सुन तस्करी प्रकरणका केही शंकास्पद व्यक्तिलाई अनुसन्धानले सुन पानी छर्किने काम गरेको बताए ।
प्रतिक्रिया