काठमाडौं । पछिल्लो समय सवैले महत्व दिएको नेपाली क्रिकेटको प्रशासनिक निकाय नेपाल क्रिकेट संघ क्यानको साधारणसभाले चतुरबहादुर चन्दलाई नै निरन्तरता दिएको छ । काठमाडौंमा शनिबार सम्पन्न चुनावी साधारणसभाले चन्दलाई अबको ४ वर्षका लागि क्यानको जिम्मा दिएको हो ।
उनीविरुद्ध उम्मेदवारी दिने बताएका वर्दियाका विनयराज भण्डारीले अन्तिमसमयमा प्रस्तावक र समर्थक नै नपाएपछि चन्द पुनः क्यानको नेतृत्वमा आएका हुन् । ८५ जना प्रतिनिधि रहेको चुनावमा अध्यक्षका लागि प्रस्तावक र समर्थक ६ जना पु¥याउन भण्डारी असफल भएका थिए । उनले अन्तिमसमयमा भरेको फर्म च्यातेर चन्दलाई नै सहयोग गर्ने बताएका थिए । उपाध्यक्षमा यसअघि कोषाध्यक्षको जिम्मेवारीमा रहेका रोशन सिंह पनि निर्विरोध निर्वाचित भएका छन् । उनले पनि अध्यक्षको तयारी गरे पनि प्रदेश अधिवेशन पछि मनस्थिीति बदलेर चन्दको प्यानल रोजेका थिए । सचिवमा पारस खड्का आए पनि उनलाई सहज भने भएन ।
पदाधिकारीतर्फ कोषाध्यक्षमा पदम खड्का निर्विरोध निर्वाचित हुँदा सचिवमा मात्रै चुनाव भएको हो । नेपाली क्रिकेट टिमका सफल कप्तान रहेका पारस २ वर्षे कुलिङ पिरियड पार गर्दै क्रिकेटको राजनीतिमा होमिएका थिए । उनी काठमाडौंबाट बागमति प्रदेश प्रतिनिधि, बागमति अध्यक्ष हुँदै केन्द्रीय सचिवको चुनावी अभियानमा होमिएका थिए । उनलाई निवर्तमान केन्द्रीय सदस्य प्रशान्त बिक्रम मल्लले चुनौति दिएका थिए । सुरुमा चतुरकै टिममा रहेका प्रशान्त कार्यकालको उत्तरार्धमा सम्बन्ध विग्रीएकाले उनी रिङआउट हुन पुगेका छन् । व्यक्तिगत इगोका कारण पारससँग चुनाव लडेका प्रशान्तले ३७ मत प्राप्त गर्दा पारसले ४८ मत ल्याएर जित निकाले ।
यस्तै, महिला सदस्यमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने जयन्ती भट्ट निर्विरोध निर्वाचित हुँदा ७ प्रदेशबाट एक एक जना केन्द्रीय सदस्य छानिने विधान अनुसार लुम्बिनीबाट प्रदीप मजगैँया र कर्णालीबाट श्रीधर केसी निर्विरोध हुँदा, कोशी, मधेश, बागमति, गण्डकी र सुदूरपश्चिम प्रदेशको केन्द्रीय सदस्यका लागि पनि चुनाव भएको छ । यसैगरी खुल्ला ५ केन्द्रीय सदस्यका लागि पनि मतदान गर्नु पर्ने अवस्था आएको थियो ।
प्राप्त मतपरिणाम अनुसार सुदूरपश्चिम प्रदेशबाट विक्रम गिरी, गण्डकीबाट सुदीप शर्मा, बागमतीबाट दिवाकर घले, कोशीबाट अर्जुन पौडेल र मधेशबाट मधव कर्माचार्य निर्वाचित भएका छन् । मधेश प्रदेशमा दुवै जनाको ४२–४२ मत आएपछि गोला थुत्दा माधवले वाजी मारेका हुन् । यसैगरी ५ जना खुला केन्द्रीय सदस्यमा धिरेन्द्र सावद ५९, दुर्गाराज पाठक ५४, आयुस श्रेष्ठ ५१ र विरेन्द्र चन्द ३४ मत ल्याएर विजयी हुँदा ऋषी गौतम र करण महत्राले समान २६–२६ मत प्राप्त गरेपछि गोला प्रथाबाट करन विजयी भएका थिए ।
प्रतिक्रिया