सिराहा, ६ असोज। सिराहाको विष्णुपुर बजारमा रहेको एक कपडा पसलमा आगलागी हुँदा लाखौँ मूल्य बरावरको धनमाल जलेर नष्ट भएको छ।
विष्णुपुर गाउँपालिका ५ का चन्देश्वर महतोले विष्णुपुर १ बजारमा सञ्चालन गर्दै आएको कपडा पसलमा आगलागी हुँदा ८० लाखभन्दा बढीको धनमाल जलेर काम नलाग्ने भएको हो।
आगलागीबाट पसलमा रहेका सबै कपडा, र्याक, नगद तथा पसल रहेको घरमा समेत क्षति पुगेको प्रहरीले जनाएको छ। प्रारम्भिक तथ्याङ्क अनुसार ८० लाखभन्दा बढीको धनमाल जलेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी रवीन्द्रराज पाण्डेले जानकारी दिएका छन् ।
उनका अनुसार क्षतिका विवरणहरू अझै सङ्कलन हुन बाँकी रहेकोले तत्कालै क्षतिको यकिन गर्न नसकिने बताए। बिद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण अझै खुल्न नसकेको प्रहरीको भनाई रहेको छ। नजिकै रहेको चिया पसलेले पसलबाट धुवा निस्किरहेको देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। प्रहरी आएर पसल खोल्ने प्रयास गरे पनि सम्भव नभएपछि पसलका साहुलाई बोलाइएको थियो।
पसलले आउँदा सम्ममा धेरै सामान जलिसकेको प्रहरीले बताएको छ। सिराहा र गोल बजार नगरपालिकाबाट गएका वारुण यन्त्र, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिएको हो। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया