देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: [email protected]
News: [email protected]

एमालेमा ओलीविरुद्ध मोर्चाबन्दी

देशान्तर

काठमाडौं । नेकपा एमालेभित्र अहिले शक्ति संघर्ष सुरु भएको छ । चितवनमा भएको महाधिवेशनबाट पार्टीमा पकड बलियो बनाएर आफू अनुकूल नेताहरूलाई भित्तामै पुर्‍याउन माहिर मानिने अध्यक्ष केपी ओलीलाई यसै साता लुम्बिनी प्रदेश अधिवेशनले भने ठूलै झट्का दिएको छ । ओलीले लुम्बिनी प्रदेशको अधिवेशनमा चुनाव चाहेकै थिएनन् । सर्वसम्मत नेतृत्व बनाउनका लागि गरेको सबै प्रयासहरू विफल भए भने चुनाव हुँदा उनको खेमाले पराजय भोग्न पुग्यो । लामो समयको उकुसमुकुस र ओली नेतृत्व वा नियन्त्रणमा मात्रै पार्टी चल्छ भन्ने एमाले नेतृत्वको मान्यता माथि धक्का पुगेको छ  ।

संसद् विघटन, झन्डै दुई तिहाइको नेकपा सरकारको सत्ता पतन, पार्टी विभाजन र अहिले केन्द्र, प्रदेश र स्थानीय सरकारमा नेतृत्वविहीन हुनुमा मुख्यतया ओलीको हठ हो भन्ने गरी एमालेभित्र एक खेमा आक्रोशित रहेको छ । तर लामो समयको इतिहास भएको, नेतृत्वमा काम गरेका र कुनै समय ओली दाहिना हुन्छन् कि भन्ने आशाले एमाले भित्र आशा गरिएका युवा नेताहरूसमेत तै चुप मै चुपको अवस्थामा रहेका थिए । यस्तो अवस्था लुम्बिनी प्रदेशको अधिवेशनबाट यसको अन्त्य भएको छ ।

पार्टी अध्यक्ष ओलीका उत्तराधिकारी ठानिएका र दाबी गर्ने उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलले लुम्बिनी प्रदेशमा प्यानल तयार गरी निर्वाचनमा होमिँदा अध्यक्ष ओली र उनका विश्वासपात्र महासचिव शंकर पोखरेलको समूह नराम्रोसँग चिप्लिएको छ । कार्यकर्ताले भनेको मान्छन् र आफ्नै समूहको नेतृत्व आउँछ भन्ने आशामा महासचिव पोखरेल ढुक्क देखिएका थिए । सर्वसहमतिमा आफ्नो समूहका हरि रिजाललाई पार्टी अध्यक्ष बनाउनका लागि महासचिव पोखरेलले ओली माथि दबाब बढाउँदै रिजाललाई सर्वसहमति अध्यक्ष बनाउन पहल गरे पनि त्यो असफल भएको थियो । गत निर्वाचनमा प्युठान प्रदेश सभा २ बाट प्रदेश सांसदमा पराजित भएका रिजाल दुई मतले पार्टीको प्रदेश अध्यक्षमा पनि पराजय भोग्न पुगे । अर्कोतर्फ पार्टी अध्यक्ष, महासचिव र प्रभावशाली नेतृत्वसमेत आफ्नो विपक्षमा उभिँदा पनि पाल्पाका राधाकृष्ण कँडेल दुई मतले विजय भएका छन् । केन्द्रको नेतृत्वमा एमाले अध्यक्ष ओलीले मनपरी तन्त्र चलाएपछि पार्टी उपाध्यक्ष सुवास नेम्बाङ, अर्का उपाध्यक्ष विष्णु पौडेलले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई साथमा लिँदै अहिले ओली इतर मोर्चा खडा गरेका छन् । यसमा लुम्बिनी प्रदेशका प्रभावशाली नेताहरू प्रदीप ज्ञवाली, गोकर्ण विष्ट, ठाकुर गैरेहरूको मौन समर्थन रहेको दाबी गरिन्छ । विशेषगरी उनीहरू तत्कालीन समयमा नेकपाको फुट र संसद् विघटनको विपक्षमा  रहेको तर ओलीको हटक कारण केही गर्न नसकेको टिप्पणी हुने गरेको छ । यिनै पात्रले अहिले लुम्बिनीबाट एमाले अध्यक्ष ओली माथि अघोषित मोर्चाबन्दी सुरु गरेका हुन् । 

यद्यपि एमाले नेतृत्व र नवनिर्वाचित समूहले आफूहरूलाई यो या त्यो समूहमा विभाजन नगर्न आग्रह गरेका छन् । अर्कोतर्फ लुम्बिनीमा पछिल्लो समय पद्मा अर्याल र सूर्य थापालाई ओलीले निर्वाचनमा मौन देखिँदै हरि रिजाललाई विजय गराउन निर्देशन दिएका थिए । अर्याल र थापालाई आफ्नो समूहको नेतृत्व बनाउनु भन्दै ओली उद्घाटन पछि काठमाडौैं फर्किए, महासचिव शंकर पोखरेल पनि अधिवेशन उद्घाटन गरेर सोही दिन जम्बो टोली लिएर राति नै चीन भ्रमणमा निस्किए । 

अन्ततः पूर्वराष्ट्रपति भण्डारी, पार्टी उपाध्यक्ष नेम्बाङ, पौडेलसहित अन्य नेतालाई अन्डर इस्टिमेट गरेर बसेका एमालेभित्रका बा निकट नेताहरूको लुम्बिनीबाट आफू निकटको उम्मेदवार झिनो मतले पराजित भएपछि घेराबन्दी सुरु भएको भन्दै आन्तरिक समीक्षा र आरोप प्रत्यारोपमा पुगेका छन् । यतिसम्मकि प्रदेश सांसदमा पराजित भएपछि हरि रिजालले प्रतिनिधिसभा सदस्य सूर्य थापाले आफूलाई पराजित गरेको  भनेर पार्टी महासचिवको ध्यानाकर्षण गराएका थिए । 

तर प्रदेश अध्यक्ष बनाउने जिम्मा तिनै थापाले पाएपछि रिजाल मौन थिए । यतिमात्रै होइन अहिले आरोप प्रत्यारोपमा एमालेभित्र अर्की वलीको व्यापक चर्चा छ । ती हुन् एमालेकी ग्ल्यामर नेतृ कोमल वली, उनको पार्टीमा खासै योगदान नभए पनि उनी पार्टी अध्यक्षको खास मान्छे आफू हँु भन्दै लुम्बिनीमा दाबी गर्ने गर्छिन् । तिनै ओलीले आफ्ना दाजुलाई प्रदेश सदस्यमा टिमबाट टिकट नपाएपछि टिम बाहिर अर्थात् स्वतन्त्र टिमबाट उम्मेदवारी बनाई मत अन्त हालेर गद्दारी भयो भन्दै पार्टीभित्र शंकर पोखरेल समूहले आलोचना गरेको छ ।  

९ सय ६५ मत खसेकोमा कँडेलले रिजाललाई दुई मतको झिनो मतान्तरले पराजित गरेका हुन् । रूपन्देहीका पौडेल र दाङका पोखरेल एमालेमा ओलीका उत्तराधिकारीका रूपमा हेरिएका नेता भए पनि यस पटक पौडेलले पूर्वराष्ट्रपति भण्डारीसहित पार्टी नेतृत्व बा वाद, टिकेवाद, नियन्त्रित वा अलोकतान्त्रिक भन्दा माथि उठेर आन्तरिक लोकतन्त्र हुनुपर्छ भन्ने वादले जितेको छ । पदाधिकारीमा पनि पौडेल पक्षको बहुमत रहेको छ । यसले अव अन्य प्रदेशमा पनि यही गतिमा प्रदेश अधिवेशन हुने आकलन गरिएको छ । 

अर्थात् एमालेभित्र ओली माथि घेराबन्दी सुरु भएको छ । यसमा मुख्य भूमिका खेलेका पात्रहरूमध्ये उपाध्यक्ष सुवास नेम्बाङलाई चितवन महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष बनाउने पूर्वसहमतिमा ओली नचलेको र नेम्बाङलाई राष्ट्रपति बनाउने वाचा गरी उपाध्यक्षमा मात्रै रहेको आरोप छ । अहिलेको सरकारमा ओलीले सभामुख र राष्ट्रपति एमालेले पाउने सहमति गराएर अन्तिममा नेम्बाङलाई राष्ट्रपतिको कार्ड फाली मतदान भए नेम्बाङ र सर्वसहमति भए आफ्नै नाम अनुमोदन गर्न खोजेको भन्दै एमालेमा नेम्बाङ फायर रहेका छन् । 

उनै नेम्बाङले केही समयअगाडि संसद् विघटन गलत निर्णय भएको भन्दै धुलिखेलमा नेतृत्वको आलोचना गरेका थिए । नेम्बाङलाई राष्ट्रपति बनाउन यस पटक प्रचण्ड तयार भए पनि ओलीले पृथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्यको नाम लिँदै विवाद देखाएर आफू राष्ट्रपति बन्ने दाउमा रहेका थिए । 

ओलीको यही दाउ समयमै जानकारी पाएपछि माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्ड कांग्रेससँगको पुरानै सर्तअनुसार राष्ट्रपतिमा कांग्रेसबाट रामचन्द्र पौडेललाई दिने सहमति गर्न बाध्य भएका थिए । यी विविध घटना र हैकमवाद व्यक्तिवादी चरित्रले एमाले अहिले उकुसमुकुसमा परेको छ । फलस्वरूप पार्टी अध्यक्ष ओली माथि अघोषित तर यर्थाथको घेराबन्दी सुरु भएको छ । लुम्बिनी प्रदेशबाट सुरु भएको यो घेराबन्दी ओलीलाई नेतृत्वविहीन अवस्थामा पु¥याउने मुख्य दाउ रहेको छ ।