काठमाडौं । आम निर्वाचनपछि पुसमा भत्केर फागुनमा राष्ट्रपति चुनावसँगै जोडिएको सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच सात महिनाभित्रै एकपछि अर्को गर्दै विवाद उत्पन्न हुँदै गर्दा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारको विकल्पमा भित्रभित्रै छलफल चलिरहेका बेला पछिल्लो समय विकसित घटनाक्रम र प्रकरणहरूले नयाँ सत्ता समीकरणका लागि मार्ग प्रशस्त गरेको स्वयम् सरकारमै रहेका दल र तिनका नेताहरूले नै बताउन थालेका छन् । कांग्रेस सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल भए पनि माओवादी र त्यसका अध्यक्षसमेत प्रधानमन्त्री प्रचण्डले उपेक्षा गरेको, महŒवपूर्ण निर्णय गर्दा दलहरूबीच समन्वय नगरेको र आफ्ना नेतालाई जोगाएर अन्य दलका नेतालाई खोजीखोजी फसाएको भन्दै कांग्रेससहितका दलहरू वर्तमान सरकार र माओवादीप्रति रुष्ट छन् ।
गठबन्धनभित्रै माओवादीले खेल्न खोजेको भन्दै कांग्रेस सशंकित छ भने गठबन्धनका अन्य दलहरूले पनि माओवादीका मन्त्रीहरूले प्रधानमन्त्रीको आडमा आफूखुसी काम गरेको गुनासो गरिरहेका छन् । प्रचण्डका कारण राजनीति सधैं अस्थिर भएको भन्दै संसद्का दुई ठूला दल मिलेर मुलुकलाई राजनीतिक स्थायित्व दिने विषयमा कांग्रेस र एमालेबीच फेरि आन्तरिक रूपमा गृहकार्य सुरु भएको छ ।
सरकारको कामकारबाही र कार्यशैलीका बारेमा कांग्रेसले सार्वजनिक रूपमा नै आलोचना गरिरहेको छ । कांग्रेसका युवा नेताहरूले सार्वजनिक रूपमा नै प्रचण्ड नयाँ राजा बन्न खोजेको बताउन थालेका छन् । भ्रष्टाचार र अनियमितताका गम्भीर प्रकरणमा जोडिँदासमेत आफ्ना नेताहरूलाई संरक्षण गरिरहेको भन्दै प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना भइरहेको छ । अरूलाई भिडाउने र आफू सधैं सत्तामा रहिरहन मन पराउने माओवादी नेतृत्वका कारण समस्या सिर्जना भएको राजनीतिक रूपमा विश्लेषण गरिएको छ । कांग्रेसका अधिकांश नेताहरू माओवादीसँगको गठबन्धन लामो समय चल्न नसक्ने निष्कर्षमा पुगेका छन् ।
कोसी प्रदेशमा कांग्रेस नेतृत्वको सरकारले दुईदुई पटक विश्वासको मत पुर्याउन नसकिरहेका बेला माओवादीले कांग्रेससँगको सल्लाहबिना नै राप्रपालाई आफ्नो पक्षमा पार्न प्रयास गरेपछि पनि कांग्रेस माओवादीसँग झस्किएको हो । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाका १० विषयगत समितिमध्ये माओवादीको भागमा परेका दुई वटा समितिको सभापतिमध्ये एउटा समितिको सभापति माओवादीले राप्रपालाई दिएको थियो । पूर्वाधार तथा विकास समितिको सभापति राप्रपाका दीपकबहादुर सिंह बनेका छन् । कांग्रेसलाई वाइपास गरेर माओवादीले आफूलाई समर्थन जुटाउने प्रयत्न गरेको पनि कांग्रेसको बुझाइ छ । राप्रपाले मत दिएको भए पनि अघिल्लो पटक नै उद्धव थापाको पक्षमा बहुमत पुग्थ्यो भने पछिल्लो पटक पनि कांग्रेसले राप्रपाको साथको अपेक्षा गरेको थियो । तर, राप्रपाले उद्धव थापालाई विश्वासको मत दिएन र अन्ततः दोस्रो पटक पनि सरकार ढल्यो ।
सर्वोच्च अदालतको परमादेशमा एमालेका हिक्मत कार्की मुख्यमन्त्री बने पनि उनले पनि ३० दिनभित्र विश्वासको मत लिनु पर्नेछ । राप्रपाले एमालेलाई साथ दिए पनि कार्कीको पक्षमा ४७ पुग्दैन । बहुमत पु¥याउन नसके कार्की पनि पदमुक्त हुनेछन् । महिनैपिच्छे सरकार बनाउने र हटाउने खेल चलिरहने भएकाले त्यसको निकासका लागि कांग्रेस र एमालेका नेताहरू छलफलमा जुटेका छन् ।
संघीय संसद्मा दोस्रो दल भए पनि कोसीमा एमाले सबैभन्दा ठूलो पार्टी हो । कांग्रेस र एमाले मिल्दा संघदेखि प्रदेशसम्मै दुई दलको बहुमत पुग्छ र यसले स्थायित्व दिन सक्छ । यसको प्रयास कोसीबाट सुरु हुने सम्भावना छ । अस्थिरता अन्त्य गर्न र मध्यावधिमा जानबाट रोक्न कोसीमा अहिले एमालेलाई कांग्रेसले समर्थन गर्ने र केही समयपछि कांग्रेसको नेतृत्वमा सरकार बनाउने अनि त्यतिबेला एमालेले कांग्रेसलाई सघाउने अनौपचारिक तयारी सुरु भएको छ । प्रदेश तहमा कांग्रेस र एमालेबीच यो सहमति भइसके पनि केन्द्रीय नेतृत्वको निर्णयको पर्खाइमा छन् । सम्भवतः यही दिशामा राजनीति अगाडि बढ्ने धेरैको अड्कल छ ।
नक्कली भुटानी शरणार्थी, सुन तस्करी र ललिता निवास प्रकरणमा माओवादीले आफ्नालाई जोगाउने र काम देखाउने नाममा गठबन्धनकै अन्य नेताहरूलाई पक्राउ गरी मुद्दा चलाउने काम गरेको भन्दै आलोचना भइरहेका बेला कोसीमा देखिएको नयाँ परिस्थितिले कांग्रेस र एमालेलाई एक ठाउँमा ल्याउने सम्भावना बढेको राजनीतिका जानकारहरू बताउँछन् । अंकगणितका आधारमा राजनीतिक स्थायित्वका लागि पनि कांग्रेस र एमालेबीचको सहकार्य सहज देखिन्छ ।
प्रतिक्रिया