काठमाडौं । एसिया कप क्रिकेट खेल्न पाउनु नेपालका लागि जति ठूलो कुरा हो त्योभन्दा ठूलो कुरा विश्व क्रिकेटका महान्हस्तीहरूले सुसज्जित भारत र पाकिस्तानसँग खेल्न पाउनु पनि हो । नेपालले पाकिस्तानसँग मुल्तानमा खेल्दै एसिया कपमा डेब्यु (पदार्पण) गरिसकेको छ । भलै, नतिजाका हिसाबले नेपाल पाकिस्तानसँग २३८ रनले पराजित भयो, त्योभन्दा धेरै उपलव्धि नेपाली क्रिकेटले हासिल गरेको छ । नेपाली क्रिकेट यतिबेला उत्कृष्ट लयमा रहेको छ । एक दिवसीय मान्यता चार वर्षलाई जोगिएको मात्रै छैन नेपालले विश्वकपको ग्लोबल छनोट खेल्न पायो भने अहिले एसिया कप खेल्दै छ । साथ साथै टी २० विश्वकपको एसिया रिजन छनोट खेलको आयोजक नै भएको छ ।
यस्तो अवस्थामा नेपाली क्रिकेटले पाकिस्तानसँगको खेलबाट धेरै कुराहरू सिक्न पाएको छ भने भोलि सोमबार भारतसँगको खेलबाट अझ बढी एक्सपोजर पाउने क्रिकेट विश्लेषकहरूले बताएका छन् । भोलि नेपाल र भारतबीचको खेल श्रीलंकाको पालेकेले इन्टरनेसनल क्रिकेट स्टेडियममा दिउँसो ३ः१५ मा सुरु हुनेछ । उक्त मैदानको दर्शक क्षमता ३५ हजार छ । नेपाल र भारतबीचको खेल हेर्न १० अमेरिकी डलर (१३ सय २७ नेपाली रुपैयाँदेखि ५० डलर (६ हजार ६ सय ३५ नेपाली रुपैयाँ) सम्म तोकिएको छ । यसअघि बिक्रीमा राखिएका सबै भीभीआईपी र भीआईपी टिकट सकिएका थिए ।
विगतमा नेपाली क्रिकेट टिमका कप्तान पारस खड्कालाई विराट कोहलीसँग कहिले तपाईंले टस गर्नुहुन्छ भन्ने प्रश्न गर्दा उनको जवाफ थियो ‘क्रमशः खेल्दै जाँदा कुनै दिन म नभए पनि अरु कुनै नेपाली कप्तानले टस गर्नेछन् ।’ अहिले पारस नेपाली क्रिकेट टिमको कप्तान छैनन् भने विराट पनि भारतीय टिमको कप्तान होइनन् । विराटले अन्तर्राष्ट्रिय क्रिकेट खेलिरहँदा पारसले भने सन्न्यास लिइसकेका छन् ।
अहिले नेपाली युवा खेलाडी रोहित पौडेलको कप्तानीमा एसियाकप खेलिरहेको छ । रोहित एसियाकपको सबैभन्दा कान्छो कप्तान हुन् । उनले सोमबार भारतका रोहित शर्मासँग टसका लागि मैदान उत्रँदा नेपाली क्रिकेटले नयाँ इतिहास बनाउनेछ । उमेरसमूह र विश्वकप क्रिकेटमा नेपालले भारतमाथि जित निकाले पनि सिनियर टिम भने पहिलो पटक आमनेसामने हुन लागेका हुन् ।
प्रतिक्रिया