नेपाली राष्ट्रिय क्रिकेट टिमका १२ वर्षसम्म कप्तानको भूमिकामा रहेका पारस खड्काले दुई वर्षअघि सन्न्यास घोषणा गर्दा अबको ध्यान क्रिकेटको व्यवस्थापनको पक्षमा केन्द्रित हुने बताएका थिए ।
उमेर समूहबाट नेपाली राष्ट्रिय टिमको कप्तानी सम्हाल्दासम्म पारसले दुई दशक मैदानभित्र आफ्नो जीवन व्यतित गरेका छन् भने विधानअनुसार दुई वर्षको कुलिङ पिरियड सकिएपछि पारस अहिले नेपाल क्रिकेट संघ क्यानको नेतृत्वमा आइपुगेका छन् ।
क्यानको असोज ५ र ६ गते केन्द्रीय महाधिवेशन हुँदै छ । त्यसका लागि ४५ वटै जिल्लाको निर्वाचन सकिएपछि प्रदेश अधिवेशन भएको थियो । सात प्रदेशमध्य अन्तिम प्रदेशको रूपमा शुक्रबार बागमती प्रदेशको अधिवेशन सम्पन्न हुँदा पारस त्यसको अध्यक्षमा निर्वाचित भए ।
दुई वर्षअघि सामाजिक सञ्जाल फेसबुक र ट्विटरमार्फत आफ्नो धारणा सार्वजनिक गरेका पारसले त्यतिबेलै क्यानको नेतृत्वमा जाने छनक दिएका थिए । त्यतिबेला उनले लेखेका थिए ‘अन्तर्राष्ट्रिय क्रिकेटरको रूपमा मेरो यात्रा टुंगिएको छ तर नेपाली क्रिकेटको लागि मेरो सपना भने अझै बामे सर्दैछन् ।’ ‘क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगत्को उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरेँ ।’
त्यतिबेला धेरैले पारसलाई अब क्यानको नेतृत्वमा ल्याउनुपर्ने बताएका थिए । बल्ल उनको बेला आएको छ । विधान र नियमअनुसार उनी नेतृत्वका लागि योग्य भए र काठमाडौं जिल्ला कार्यसमितिको सदस्य भएर क्रिकेट राजनीतिमा प्रवेश गरेका पारस प्रदेश प्रतिनिधि हुँदै अध्यक्ष भएका छन् ।
ललितपुरमा भएको चुनावमा ३७ जना प्रतिनिधि रहेकोमा पारस र उनको सम्पूर्ण टिमलाई २३ जनाको मत प्राप्त भयो भने उनका प्रत्यासी उमेश पिया र उनको सम्पूर्ण टिमले १४ मतमात्रै प्राप्त गरेको थियो ।
सर्वसम्मत बनाउने प्रयास असफल भएपछि चुनाव हुँदा जसरी बागमतीमा पारसको माहोल देखियो, यसले भविष्यमा उनलाई केन्द्रीय पदाधिकारीको रूपमा पनि हेरिन थालिएको छ । क्यानको विधानअनुसार प्रतिनिधि भएपछि कुनै पनि ठाउँमा निर्वाचन लड्न स्वतन्त्र रहेकाले उनी सायद आसन्न केन्द्रीय चुनावमा सचिव पदको आकांक्षीको रूपमा देखिएका छन् ।
समय अझै बाँकी रहेकाले अहिले नै केन्द्रको बारेमा भने पारसले कुनै प्रतिक्रिया दिएका छैनन् । उनले आफ्नो उम्मेदवारी घोषणागर्दा महत्वाकाक्षी योजनाहरू सार्वजनिक गरेकाले पनि उनी कुनै न कुनै रूपमा हस्तक्षेपकारी भूमिकामा पुग्नै पर्छ । बागमती प्रदेश आफैंमा पनि ठूलो ठाउँ भएकाले यहाँबाट पनि केही काम गर्न सकिने उनको बुझाइ पनि रहेको छ । पारसले आफू निर्वाचित भएलगत्तै सबैलाई मिलाएर लैजाने र क्रिकेटको विकासका लागि समन्वयकारी भूमिका निर्वाह गर्ने बताएका छन् । उनले भने ‘साथीहरूको सहयोगले म यहाँ निर्वाचित भएको छु, सबैको भावनालाई समेटेर म अगाडि बढ्छु । सबैलाई समान व्यवहार मबाट हुन्छ ।’
क्यानको निर्वाचनमा अहिले पारसले जसलाई समर्थन गर्छन् त्यसको पल्ला भारी हुने अवस्था बन्दै गएको छ । अन्य प्रदेशहरूमा पनि पारसको प्रभाव राम्रो रहेकाले अहिले अध्यक्षका उम्मेदवारद्वय चतुरबहादुर चन्द र रोशन सिंहले पारसलाई आफ्नो समूहमा राख्नका लागि प्रयास गरेको बुझ्न सकिन्छ । खास गरेर जिल्ला र प्रदेशको चुनाव अगाडिको समीकरणअनुसार पारस चतुर नजिक देखिए पनि आन्तरिक समीकरण कस्तो बन्छ र त्यसमा पारस कहाँ अटाउँछन् त्यो भने हेर्न बाँकी छ । अहिलेको जमाना सामाजिक सञ्जालको हो । पारसलाई अहिले नै क्यानको केन्द्रीय अध्यक्षको चुनाव लडाउनुपर्छ भन्नेहरूको जमात पनि बढ्न थालेको छ । तर, संरचना पुरानै रहेकाले अझै उनको प्रभाव जिल्ला जिल्लाका प्रतिनिधिसम्म पुग्न नसकेकाले अहिले नै हतार गर्न नहुने सुझाव पनि पारस निकटकाले दिइरहेका छन् । जिल्ला, प्रदेश र केन्द्रीय पदाधिकारी गरी क्यानको निर्वाचनमा ८८ मत हो । तर, पुरानो कार्यसमितिबाट उपाध्यक्ष राजुबाबु श्रेष्ठ र सचिव अशोकनाथ प्याकुरेलले राजीनामा दिएकाले ८६ जनाले महाधिवेशनमा भाग लिन पाउनेछन् ।
प्रतिक्रिया