काठमाडौं । भन्सार शब्द नै काफी छ । राष्ट्रसेवक कर्मचारीहरूमध्ये अधिकांशको धोको हुन्छ, एक पटक भन्सारमा पोस्टिङ भए घरघडेरी जोड्न सक्ने थिएँ र आर्थिक रूपमा अलि सबल हुने । भन्सार कार्यालयमा जानका लागि कर्मचारीहरूले नेता, व्यापारीदेखि विभिन्न ठाउँमा दबाब दिएका कुराहरू नेपाली समाजमा घामजस्तै छर्लंग नै देखिएको छ । तर, अहिले अवस्था फेरिएको छ । विगतमा कमाउ अड्डाको रूपमा रहेको भन्सार अहिले उनै कर्मचारीलाई कतिबेला आफ्नो करियर सिद्धिएर कालकोठरीमा जाक्किने हो भन्ने डरले सताउन थालेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाहिरबाट ६० किलो सुन बरामद र त्यसअघि ‘ई सिगरेट’को नाउँमा ९ किलो सुन बरामद भएपछि भन्सारमा कार्यरत कर्मचारीको भागाभाग भएको छ । सुन काण्डमा भन्सारकै कर्मचारीको मिलेमतोको पोल खुलेपछि अहिले त्यहाँ कार्यरत कर्मचारीहरू बरु अन्यत्रै सरुवा गरेर जान खोजेका छन् । अहिले त्यहाँ कार्यरत १३७ जना कर्मचारीले सामूहिक सरुवाको माग गरेका हुन् । उनीहरूले भन्सार विभागका महानिर्देशकलाई सम्बोधन गर्दै अन्यत्र सरुवाको माग गरेका हुन् । सरुवा माग गर्नेमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका ३५ जना अधिकृत तहका कर्मचारीहरू नै रहेका छन् भने अरू तल्लो तहका कर्मचारीको संख्या रहेको छ । उनीहरूले सामूहिक सरुवा माग गरेको निवेदनमा आफूहरूले दिनरात नभनी चौबिसै घण्टा, सार्वजनिक बिदाका दिनमा पनि कुनै सुविधा नलिई काममा खटिए पनि यात्रुबाट हुने दुव्र्यवहार र अपशब्द खेप्नु परेको उल्लेख गरेका छन् । साथै उनीहरूले ६० किलो सुन प्रकरणमा आफूहरूलाई विभिन्न निकायबाट बिनाकारण दुःख दिने तथा मानसिक रूपमा टर्चर गराउने काम भएकाले कार्यसम्पादनमा कठिनाइ भएको जनाएका छन् ।
बिनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरूले उल्लेख गरेका छन् । सरुवा माग गरेको निवेदन उनीहरूले अर्थसचिवलाई पनि दिएका छन् ।
प्रतिक्रिया