काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले देशको अर्थतन्त्रलाई लयमा ल्याउने कोसिस भइरहेको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औँ वार्षिक साधारणसभा तथा अधिवेशनलाई आज काठमाडौँमा सम्बोधन गर्दै अर्थमन्त्री डा महतले सरकारले खस्कँदो अर्थतन्त्रलाई लयमा ल्याउने प्रयास गरिरहेको जानकारी दिए । उनले केही समस्याका बाबजुत आगामी दिनमा अर्थतन्त्र सकारात्मक दिशातर्फ जाने विश्वास व्यक्त गर्दै सरकारको कामप्रति सकारात्मक बन्न आग्रह पनि गरे ।
पर्यटक भित्रिने क्रम बढिरेहको, विदेशी मुद्राको पर्याप्त सञ्चिति र अन्य आर्थिक गतिविधि अघि बढाउनका लागि भएका समस्यालाई सहजीकरण गर्नेतर्फ मन्त्रालय लागिपरेको उनको भनाई थियो । राजस्व सङ्कल्प अपेक्षाअनुसार नबढे पनि तुलनात्मकरुपमा गत आर्थिक वर्षभन्दा सन्तोषजनक रहेको अर्थमन्त्री डा महतको दाबी छ ।
राज्यका विभिन्न निकायले लिने निर्णयका कारण आर्थिक गतिविधिमा प्रभाव परेको उल्लेख गर्दै उनले आवश्यकताअनुसार सहजीकरण गर्न सरकार तयार रहेको बताए । निजी क्षेत्रको गतिविधिलाई धेरै माइक्रो म्यानेजमेन्ट गर्नतर्फ लाग्दा समस्या आउने उल्लेख गर्दै उनेले बृहत् नीतिगत ‘फ्रेमर्वक’ भित्र कार्यान्वयनमा लग्नुको महत्वबारे स्पष्ट पारे ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रले दिएको सुझाबलाई कार्यान्वयन गर्न सरकारसँग माग गरे ।
उनले सरकारी नियमनकारी निकायबाट प्रवाह हुने सूचनालाई सबैको पहुँचमा सहज रुपमा पु¥याउनसमेत अर्थमन्त्री डा महतसमक्ष सुझाव राखेका थिए ।
नेपाल उद्योग परिसङ्घका कार्यबाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे र नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले खस्कदो अर्थतन्त्रलाई सुधार गर्न एकजुट भएर अघि बढन् आह्वान गरे । कार्यक्रममा सेजनका संस्थापक अध्यक्ष प्रतीक प्रधानले नविन प्रविधि र सामाजिक सञ्जालको बढ्दो प्रयोग पत्रकारिताका लागि चुनौती बन्ने बताए ।
प्रतिक्रिया